काठमाडौं । जेठ अन्तिमबाट छायांकन सुरु गरिने भनिएको नेपाली चलचित्र ‘महाराजधिराज’को छायांकन अभिनेता पल शाहको कारण सुरु हुन सकेन । अभिनेता पलले यो चलचित्रको लागि कम्तीमा पनि १५ केजी तौल घटाउनु पर्ने थियो ।
तोकिएको भन्दा अझ बढी समय दिँदा पनि पलले तौल घटाउन सकेनन् । यसरी चलचित्रको माग अनुसारको चरित्रमा पलले आफूलाई शारीरिक रूपमा ढाल्न नसकेको भन्दै निर्माण पक्षले यति बेला पलसँगको सम्झौता रद्द गरेको छ ।
यो चलचित्रलाई पूर्ण समय दिन नसक्नुका साथै पलले यस अघि तोकिए अनुसारको शारीरिक बनोटमा नढालेको कारण उनीसँगको सम्झौता रद्द गर्नु परेको चलचित्र महाराजधिराजको निर्माण टिमले जनाएको छ । केही महिना अघि पल शाहको तस्बिर नै राखेर चलचित्र महाराजधिराजको पोस्टर समेत सार्वजनिक गरिएको थियो ।
पोस्टर सार्वजनिकपछि चलचित्रबाट पल शाह निकालिएको घटना यस अघि पनि भएको थियो । गत वर्ष चलचित्र कल्लीमा अनुबन्धित भएका पललाई सो चलचित्रको छायांकन हुन अघि कल्लीबाट निर्माण टिमले हटाएको थियो । उनको ठाउँमा नाजिर हुसेन राखेर कल्लीको छायांकन सम्पन्न गरिएको छ ।
उता अभिनेता पल शाहले आफ्नो गृह ब्यानरमा निर्माण हुने चलचित्र यानीमायाको छायांकनमा जोडिनु पर्ने भएकाले चलचित्र महाराजधिराजमा आफूले समय दिन तत्काल नसकेको प्रतिक्रिया दिएका छन् । आफुलाई चलचित्रबाट हटाइएको कुरा पलले स्विकारेका छैनन् ।
महाराजधिराजका निर्देशक परिच्छेद सेनले पल शाहको प्रतिक्रियाको सामाजिक सञ्जालमा यसरी खण्डन गरेका छन्,‘हरेक कलाकारमा प्रतिभा हुन्छ र जो कोही कलाकारले राम्रो काम गर्न सक्छन् । तर, हामीलाई जो कोही चाहिँदैन र हामीलाई त ती अनुपम कलाकारहरू चाहिन्छ, जसले आफ्नो विशिष्ट सीप र कलालाई पूर्ण रूपमा सदुपयोग गरेर फिल्ममा योगदान दिन सकुन् ।’
यो चलचित्रमा यस अघि पल शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा सिवाकोटी, जय किशन बस्नेतलगायतका कलाकारलाई अनुबन्धित गरिसकेको थियो । महाराजधिराजको प्रस्तुतकर्ता विराज विष्ट हुन् । यसका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । अब पलको ठाउँमा अर्को अभिनेता राखेर यसको छायांकन सुरु गरिने निर्माण पक्षको कथन छ ।
प्रतिक्रिया