सुनसरीको वराहक्षेत्रमा आगलागी हुदाँ एक घर जलेर नष्ट

बुधबार, ०४ असार २०८२

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–१० मंगलवारेस्थित एक घरमा आज दिउँसो अचानक आगलागी हुँदा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

७२ वर्षकी कमलिया चन्द्रवंशीको टिनको छाना र बाँसको टाटी–बेराले बनेको भुइँतल्ले घरमा दिउँसो करिब २ः३० बजे विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटिका प्रहरी प्रमुख इन्स्पेक्टर दिवस कुवरले जानकारी दिए । 

आगलागीको जानकारी प्राप्त भएपछि प्रहरी चौकी प्रकाशपुरबाट प्रहरी नायब निरीक्षक कृष्ण आचार्यको नेतृत्वमा खटिएको टोली तथा स्थानीयवासीको सहयोगमा आगो करिब १० मिनेटमै नियन्त्रणमा लिइएको थियो।

उक्त आगलागीबाट चन्द्रवंशीको घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेको मकै २ मन, धान ५ मन, सुन ४ अन्ना, चाँदी ६ तोला, नगद ५ हजार, लत्ताकपडा, भाँडाकुँडा, विद्युत् मिटर बक्सलगायत अन्दाजी १ लाख ४९ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार