विराटनगर । भित्री पक्की सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–३ मा टिपरले स्कुटरलाई ठक्कर दिँदा बुधवार दिउँसो १ जनाको मृत्यु भएको छ ।
पञ्चेश्वर मन्दिरअगाडि को १ क ९५३ नम्बरको टिपरले प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको टिपरले उत्तरतर्फ नै जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
उनका अनुसार दुर्घटनामा परेर स्कुटरको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईँको मृत्यु भएको हो । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बजगाईँलाई उपचारका लागि बूढीगंगाको विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी इन्स्पेक्टर लम्सालले दिए । दुर्घटना लगत्तै टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कूल दीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
दुर्घटनामा स्कुटर चालकलाई भने केही पनि नभएको प्रहरीले जनाएको छ । टिपर चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया