गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवालविरुद्ध अकुत सम्पत्ति आर्जनमा उजुरी दर्ता

बुधबार, ०४ असार २०८२

काठमाडौँ : आर्थिक हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा गोल्डेन गेट इन्टरनेसनल कलेजका सञ्चालक रमेश सिलवालविरुद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ।

धादिङको बेनीघाट–९ मा सामान्य परिवारमा जन्मिएका सिलवालले १६ वर्षको अवधिमा करिब ४०० करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको दाबीसहित जेठ ८ गते विभागमा औपचारिक उजुरी दर्ता गरिएको हो।

उजुरीमा उल्लेख भएअनुसार सिलवालले त्रिचन्द कलेजमा सामान्य प्राध्यापकका रूपमा काम गर्दा गोल्डेन गेट एजुकेसन नेटवर्कमा १७ प्रतिशत शेयर लगानी गरेका थिए।

हाल त्यो लगानी ६० प्रतिशत पुगेको देखिँदा कुनै थप लगानी विना उक्त शेयर वृद्धि कसरी सम्भव भयो भन्नेबारे गम्भीर अनुसन्धान आवश्यक भएको दाबी गरिएको छ।

उनीमाथि गोल्डेन गेट नेटवर्कबाट आउने आम्दानीको प्रयोग गरी दर्जनौँ कम्पनीमा लगानी गरेको आरोप पनि लागेको छ। तीमध्ये एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट,कसमस कलेज, प्राइम कमर्शियल बैङ्क, कालिन्चोक केवलकार, सानिमा जनरल इन्स्योरेन्स र माया खोला हाइड्रो प्रालि उल्लेखनीय छन्।

साथै, राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव पदमा कार्यरत रहँदा दोहोरो सेवा सुविधा लिएको, बीएचएम अध्ययनरत विद्यार्थीहरूलाई विदेश इन्टर्नसिपका नाममा प्रति विद्यार्थी १ लाख ३० हजार रुपैयाँ असुलेको, कर छली गरेको, कलेजको नाममा किनेको ४८ आना जग्गा टुक्र्याएर बेचेको, सफ्टवेयरमा हेरफेर गरी हिसाब–किताब गोप्य राखेको जस्ता आरोपहरू पनि उजुरीमा समावेश छन्।

यससँगै सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र काठमाडौँ महानगरपालिकामा समेत छुट्टाछुट्टै उजुरी परेका छन्। अनुसन्धान प्रक्रिया अगाडि बढ्ने सङ्केत दिँदै विभाग स्रोतले प्रारम्भिक अध्ययनपछि सिलवालमाथि औपचारिक छानबिन सुरु हुने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार