काठमाडौँ : नेपालभर १ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालमा १ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो एक सातामा बाग्मती प्रदेशमा १९,मधेशमा ४,सुदूरपश्चिममा ४,कोशीमा २ र गण्डकीमा १ कोरोना सङ्क्रमित फेला परेका छन्। भारतमा तीव्र गतिमा फैलिएको कोरोनाका कारण नेपालमा पनि यसको त्रास आम मानिसमा रहेको छ। भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएकोले धेरैले त्रासित भएका छन्।
नयाँ कोरोना कति खतरनाक छ ?
हाल भारतमा ओमिक्रोनको विकसित रूप एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको शुक्रराज ट्रपिकल तथा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। यो ओमिक्रोन जस्तै सङ्क्रामक भए पनि कम घातक भएको उनी बताउँछन् । उनका अनुसार यो ओमिक्रोनको विकसित रूप हो।
यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पतालसम्म पुर्याए पनि आइसियुमा भर्ना हुने दर निकै न्यून रहेको डा पुनको भनाइ छ। उनी भन्छन् -‘भारतमा धेरै जनसङ्ख्या छ, धेरैले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन, त्यसैले पनि धेरै सङ्क्रमित पुष्टि भएको हुनसक्छ ,तर, आइसियुमा भर्ना दर भने निकै न्यून छ।’ कोभिड नेपालमा आउने जाने क्रम चलि नै रहेकोले पनि त्यसमा आत्तिनुपर्ने अवस्था नरहेको डा पुन बताउँछन्।
‘सङ्क्रामक भाइरस भए पनि धेरै नै घातक रहेको भन्ने अहिलेसम्म छैन’,‘यद्यपि ज्येष्ठ नागरिक तथा ‘दीर्घरोगीहरुलाई जटिलता ल्याउने सम्भावना छ’, ‘बेवास्ता गर्नुभएन तर आत्तिनुपर्ने अवस्था पनि छैन,’ डा पुनले भने। सकभर भिडभाडमा सामेल नहुने, मास्कको अनिवार्य गर्ने,साबुन पानीले हात धुने,रुघाखोकी लाग्दा सतर्कता अपनाउने लगायत रोकथामका उपायहरू अपनाउन डा पुनको सुझाव छ।
प्रतिक्रिया