काठमाडौं : नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा बजाइने ‘रिङ ब्याक टोन’ बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन्।
रिटमा उल्लेख भएअनुसार, टेलिकमले अनावश्यक रूपमा बजाइरहने ‘रिङ ब्याक टोन’का कारण उपभोक्ताहरू बाध्यतावश ह्वाट्सएप, म्यासेन्जर, भाइबरजस्ता विदेशी सेवा प्रयोग गर्न थालेका छन्। यसले विदेशी कम्पनीलाई लाभ र नेपाल सरकारलाई राजस्व घाटा भएको दाबी गरिएको छ।
साथै, सस्तो र गुणस्तरीय सेवा दिनुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छाविपरीत रिङ ब्याक टोन सुन्न बाध्य पार्ने तथा मानसिक तनाव सिर्जना गर्ने कार्य भएको रिटमा उल्लेख छ।
विभिन्न चाडपर्व, मेला, महोत्सव वा विशेष अवसरमा बजाइने रिङ ब्याक टोन तत्काल बन्द गर्न परमादेश जारी गर्न माग गरिएको छ।
प्रतिक्रिया