जडीबुटी खेतीमा भोजपुरका वडाध्यक्ष, वार्षिक सातलाखसम्म आम्दानी

सोमबार, ०२ भदौ २०८२

भोजपुर : भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आएका छन् । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए । 

आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उनको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताए । 

जनताको सेवा पश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उन भनाइ छ । “जनताको सेवाबाट बेचेको समयलाई जडीबुटी खेतीमा लगाउने  गर्छु”वडाध्यक्ष शेर्पाले भने,“जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु । गत वर्षबाट १२ मन (एक मनमा ४० केजी) चिराइतो बेचेँ । अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हारहारीमा आम्दानी लिन सकिन्छ ।”

आर्थिक रुपमा सक्षम बन्नको लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताए । फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उहाँको भनाइ छ । तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उनको भनाइ छ ।

“उत्पादन भएको जडीबुटी बिक्रीको लागि समस्या छैन”उनँले भने,“जडीबुटी खरिदको लागि घरमा नै ठेकेदार आउछन् । हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन् । औषत यहाँका एक किसानले वार्षिक रुपमा दुई लाखदेखि दश लाखसम्मको जडीबुटी बिक्री गर्दछन् ।”

पराम्परात बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाए । दश हजारको अन्यबाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट ५० हजारसम्म आम्दनी लिन सकिने उनको भनाइ छ । आफूले सिकेको सीपलाई जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उनले बताए । 

वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरुको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामासमेत निर्यात हुने गरेको शेर्पाले जानकारी दिए । 

“मसँग जडीबुटी खेतीसम्बन्धी राम्रो ज्ञान छ” उनले भनेका छन्,“आफूले सिकेको सीपलाई स्थानीयलाई पनि बाड्ने गरेको छु । म जनप्रतिनिधि भएपछि हाम्रो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गर्न सफल भएका छौँ ।” 

आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकाले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । राजनीति सेवा भएकाले आर्थिक रुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उनले बताएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार