धरान । धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
धरान उपमहानगरपालिकाको संयोजन र धरान सिटी फुटबल क्लबको आयोजनामा ‘मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता २०८२’ यहि असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित रंगशालामा हुने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रतियोगितामा धरानका आठ वटा प्रतिष्ठित महिला फुटबल क्लबहरूको सहभागिता रहनेछ। प्रतियोगिता स्थानीय महिला खेलाडीहरूका लागि प्रोत्साहनको स्रोत हुने र नयाँ प्रतिभा पहिचान गर्न सहयोगी हुने आयोजकको विश्वास छ।
धरान सिटी फुटबल क्लबका अध्यक्ष प्रेम घिमिरेका अनुसार प्रतियोगिता महिला फुटबलको विकास, विस्तार र संस्थागत प्रवर्द्धनतर्फको महत्वपूर्ण पहल हुनेछ। साथै, यसले स्थानीय तहमा महिला फुटबललाई व्यावसायिक स्वरूप दिन मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजार, दोस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ‘म्यान अफ द म्याच’, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, र उदयमान खेलाडी लगायत विभिन्न विधामा पनि पुरस्कार वितरण गरिनेछ।
प्रतिक्रिया