भूमिविहीनलाई जग्गा चुलाचुलीमा सपना पुरा, ३१ जनाले पाए जग्गाधनी पुर्जा

विहीबार, ०५ असार २०८२

इलाम : 'वर्षौंदेखिको पर्खाइ बल्ल सकिएको छ,' चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको अनुहारमा खुसीको झल्को थियो ।

बुधवार दिउँसो चुलाचुली गाउँपालिका कार्यालय परिसरमा जब उनले आफ्नै नाममा पहिलो पटक जग्गाधनी लालपुर्जा हात पारे, त्यो क्षण उनीजस्ता हजारौँ भूमिविहीन नागरिकका लागि पनि प्रेरणाको क्षण बन्यो । जन्मिँदै भूमिहीन फागोले जीवनको ६ दशकभन्दा बढी समय अरूको जमिनमा पसिना बगाउँदै बिताएपछि अब आफ्नो नाममा जमिन भएको प्रमाणपत्र देखाउने गौरवको अनुभूति गरिरहेका थिए ।

उनले भने, “हामीजस्ता गरिबका लागि लालपुर्जा सपनाभन्दा कम थिएन, आज त्यो सपना साकार भएको छ ।” फागो जस्तै ३० अन्य चुलाचुलीवासीलाई पनि सोही दिन जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० वितरण गरिएको हो ।

भूमि समस्या समाधान आयोगले चुलाचुली गाउँपालिकासँगको समन्वयमा चुलाचुली–२, ४ र ५ वडाका ३१ परिवारलाई जम्मा ५४ कित्ता जग्गाको लालपुर्जा वितरण गरेको हो ।

जग्गा पाएका अधिकांश परिवारहरू दशकौँदेखि त्यस स्थानमा स्थायी रूपमा बसोबास गर्दै आए पनि अहिलेसम्म उनीहरू कानुनी रूपमा जग्गाको मालिक थिएनन् । अब भने उनीहरूको जीवनमा कानुनी सुरक्षा, घर बनाउने आत्मविश्वास र भविष्यमा सन्तानका लागि केही थुनो बाँकी राख्ने आधार तयार भएको छ ।

चुलाचुली–२ की ६२ वर्षीया पदमकुमारी राईका लागि यो क्षण जीवनमा नयाँ भरोसा लिएर आएको छ । उनले भनिन्, “पहिलो पटक आफ्नो नाममा कानुनी रूपमा जग्गा पाएपछि अब म पनि मालिक भएको अनुभूति गर्दैछु । यो हाम्रो पुस्ताको सबभन्दा ठुलो उपलब्धि हो ।”

यसैगरी, चुलाचुली–२ की अर्की लाभग्राही निरमाया तामाङले लालपुर्जा हातमा पर्दा आफ्नै जमिन भएको अनुभूति पहिलो पटक गरेको बताइन् । उनले भनिन्, “वर्षौँदेखि यही ठाउँमा बसेर काम गरिरहे पनि आजसम्म यो जमिन हाम्रो होइन जस्तो लाग्थ्यो । अब त कसैले पनि कब्जा गर्न सक्दैन भन्ने दृढता आएको छ ।”

भूमि आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारीका अनुसार हालसम्म चुलाचुली गाउँपालिकामा ६२० जनाको नाममा जमिन नाप जाँच तथा प्रमाणीकरणको प्रक्रिया अगाडि बढाइएको छ । तीमध्ये ३१ जनालाई बुधवार प्रमाणपत्र वितरण गरियो । बाँकीलाई क्रमशः वितरण गरिने योजना रहेको अधिकारीले बताए ।

कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईँ, जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो ।

यसअघि मङ्गलवार रोङ गाउँपालिका–१ का ७२ भूमिविहीनलाई पनि लालपुर्जा वितरण गरिएको थियो । आयोगका अध्यक्ष अधिकारीका अनुसार, “हामी जतिसक्दो चाँडो भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको कानुनी धनी बनाउने दिशामा काम गरिरहेका छौँ । असार मसान्तसम्ममा मात्रै करिब ७०० जनालाई पुर्जा वितरण गर्ने लक्ष्य लिएका छौँ ।”

भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले नेपालभरका जिल्ला आयोगमार्फत लालपुर्जा वितरण कार्य सुरु भएको जानकारी दिए । “अब दुई वर्षभित्र सबै भूमिहीनले कानुनी रूपमा जग्गाको मालिक हुनेछन्,” उनले आश्वासन दिए ।

आयोगका अनुसार, इलाम जिल्लामा मात्रै हालसम्म २२ हजार २४० वटा निवेदन दर्ता भएका छन् । तीमध्ये २१० जना भूमिहीन दलित, ९१० भूमिहीन सुकुम्वासी तथा २१ हजार १३० जना अव्यवस्थित रूपमा बसोबास गर्ने नागरिक रहेका छन् ।

यो क्रमलाई आयोगले अब गाउँ गाउँसम्म विस्तार गर्दै लग्नेछ । पुर्जा पाउनेहरूले अब बैङ्कबाट सहुलियतपूर्ण कर्जा लिने, आफ्नो सम्पत्तिको विकास गर्ने र वैधानिक रूपमा आफ्नो अधिकारको संरक्षण गर्ने बाटो पाएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार