✍️ रुपक पराजुली
इटहरी : इजरायल–इरानबीच चर्किएको युद्धले नेपाली कामदारको सपना केही समयका लागि रोकिएको छ । वैदेशिक रोजगारीका लागि ‘केयर गिभर’ का रूपमा इजरायल जान तयारी गरेका ३५ नेपालीको यात्रा स्थगित भएको हो ।
जारी युद्धका कारण उनीहरूको आगामी उडान रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार उनीहरुको यही ७ गते उडान तय भएको थियो ।
तर, इजरायलबाट तत्काल नपठाउन पत्राचार भएपछि उनीहरूलाई रोकिएको हो । सबै प्रक्रिया पूरा गरेर उड्न तयार अवस्थामा रहेका यी नेपालीहरू युद्धका कारण अचानक रोकिएका हुन् । उनीहरु अर्को सूचना नआएसम्म जान पाउँदैनन् ।
पर्खाइसंगै आशा पनि
झापाकी शान्ता दाहाल खतिवडाले ‘जि टु जि’ प्रणालीमार्फत रोजगारी प्रक्रिया पूरा गरिसकेकी थिइन् । इजरायलमा रहेका साथीहरूसँग नियमित सम्पर्कमा रहेकी उनी भन्छिन्, ‘सबै प्रक्रिया सकियो । उता सुरु भएको युद्धका कारण केही दिन ढिलाइ हुने भयो । तर, उहाँका साथीहरु सबै सुरक्षित छन् ।’
उनले थपिन्,‘हामी जस्ता लक्की ड्रबाट छानिएका दुई हजार ११२ जनामध्ये करिब सात सय जना इजरायल पुगिसकेका छन् । बाँकीलाई पनि यो अवसरबाट बञ्चित गरिनु हुँदैन ।’
इजरायलमा केयरगिभरको रूपमा कार्यरत इटहरीका सन्तोष भण्डारी इजरायलमा कुनै आत्तिहाल्नुपर्ने अबस्था नरहेको बताउँछन् । ‘यहाँ युद्ध कुनै नौलो कुरा होइन । यो पटक अलिक फरक भए पनि आत्तिनुपर्ने अवस्था छैन । सुरक्षाका सबै मापदण्ड पालना गरिरहेको छौं । इजरायली सरकारले सुरक्षाको विषयमा कुनै भेदभाव पनि गर्दैन ।’
युद्धको असर
गत बिहीबार इजरायलले इरानमाथि आकस्मिक हवाई आक्रमण गरेपछि तनाव चुलिएको हो । यो युद्धमा हालसम्म २४० जना इरानी र २४ जना इजरायलीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ ।
इजरायलस्थित नेपाली दूतावासले समेत बुधबार सूचना जारी गर्दै स्वदेश फर्कन चाहने नेपालीलाई अनलाइन फारम भरेर नाम दर्ता गर्न अनुरोध गरेको छ । हाल इजरायलमा पाँच हजार ५०० भन्दा बढी नेपाली विद्यार्थी र कामदार कार्यरत रहेको अनुमान रहेको छ ।
प्रतिक्रिया