इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिकै मङ्गलवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।
धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल दिउँसो करिब ३:३५ बजे अचानक अनियन्त्रित भई कोशी लोकमार्गमा पल्टिएको थियो।
दुर्घटनामा धनकुटा पख्रिबास नगरपालिका–४ स्थायी घर भई हाल इटहरी–१ हासँपोसा बस्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ घाइते भएका छन्।
उक्त मोटरसाइकलमा पछाडि सवार उनकी ४५ वर्षीया पत्नी हिरा मेघाले गम्भीर घाइते भई बेहोस अवस्थामा भेटिएकी थिइन्।
अनुहारमा गम्भीर चोट लागेकी उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा मंगलबारनै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक कमल प्रसाद घिमिरेले जानकारी दिए।
प्रतिक्रिया