काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियाप्रति गम्भीर आपत्ति जनाउँदै यो कदमले देशको प्राज्ञिक क्षेत्रमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
काठमाडौंमा नेपाली कांग्रेस शिक्षा विभागद्वारा आयोजित ‘उच्च शिक्षा विमर्श’ कार्यक्रममा बोल्दै महरले त्रिवि उपकुलपति सिफारिस प्रक्रियाबाट मेरिटोक्रेसीको सिद्धान्त नै हटाइएको भन्दै आपत्ति जनाए। उनले भने, “प्रतिभा, प्रयास र क्षमताको निष्पक्ष मूल्याङ्कन मेरिटोक्रेसीको मूल मर्म हो। यस्तो सिद्धान्तलाई उपेक्षा गरी निर्णय लिइनुले विश्वविद्यालयको स्वायत्तता र शैक्षिक मर्यादामाथि गम्भीर असर पर्छ।”
उनका अनुसार अघिल्लो पटकसम्म केही हदसम्म खुला प्रतिस्पर्धाको अभ्यास भएको थियो, तर यसपटक सिफारिस प्रक्रियामा पारदर्शिता नरहेको स्पष्ट देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित तीन सदस्यीय सिफारिस समितिको प्रक्रिया र मापदण्डसमेत गोप्य राखिएकोप्रति महरले गम्भीर शंका व्यक्त गरे।
“यस्ता अपारदर्शी प्रक्रियाले योग्य र सक्षम व्यक्तिहरूलाई पाखा लगाउँदै विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउँछ,” महरले भने, “यसले शैक्षिक गुणस्तर खस्किन्छ, अनुसन्धान कमजोर हुन्छ र अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच आउँछ।”
महरले सिफारिस समितिको संरचना र कार्यविधिमा समेत प्रश्न उठाउँदै विश्वविद्यालय ऐनमै खुला प्रतिस्पर्धा र मेरिटोक्रेसीको कानुनी ग्यारेन्टी सुनिश्चित गर्नुपर्ने माग गरे। अन्त्यमा उनले सरकार र सम्बन्धित निकायलाई विश्वविद्यालय जस्ता संवेदनशील संस्थामा राजनीतिक हस्तक्षेप बन्द गरी योग्यता र निष्ठालाई मात्र मापदण्ड बनाउन आग्रह गरे। “अन्यथा मेरिटोक्रेसी नारामा सीमित हुनेछ र मनमानीक्रेसी संस्थागत भई शैक्षिक भविष्य अन्धकारमा पर्छ,” उनले चेतावनी दिए।
प्रतिक्रिया