ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा महासचिव पोखरेलले नवनिर्वाचित अध्यक्ष हंसबहादुर शाहीसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई दिँदै संगठनको भावी यात्रा सफल होस् भन्ने शुभेच्छा व्यक्त गरे। उनले नेपाल राष्ट्रिय शिक्षक संगठनले विगतमा शिक्षा क्षेत्रको विकास, शिक्षकहरूको हकहितको संरक्षण तथा पेसागत मर्यादा सुनिश्चित गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ कार्यसमितिले सो योगदानलाई अझ सशक्त ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गरे।
महासचिव पोखरेलले शिक्षा क्षेत्र अहिले गम्भीर रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै नीति, संरचना, पद्धति र प्रविधिमा आएको परिवर्तनको सामना गर्न शिक्षक संगठनको भूमिका निर्णायक हुने स्पष्ट पारे। उनका अनुसार शिक्षक आन्दोलन केवल पेसागत अधिकारको कुरा मात्र नभई सामाजिक रूपान्तरणको आन्दोलन पनि हो।
कार्यक्रममा बोल्दै पोखरेलले शिक्षकहरूले केवल पाठशालासम्म सीमित नभई समाजको अग्रपंक्तिमा रहेर राष्ट्र निर्माणमा योगदान पुर्याउने शक्ति भएको उल्लेख गरे। उनले शिक्षकहरूको पेसागत सुदृढीकरणका लागि नवनिर्वाचित नेतृत्वले सबल नीति, संवाद र सहकार्यको बाटो समात्ने अपेक्षा व्यक्त गरे।
प्रतिक्रिया