लायन्स एरिया ४ का २६ क्लबद्वारा इटहरीमा बृहत् रक्तदान कार्यक्रम गरिँदै

आइतबार, १५ असार २०८२

इटहरी : पूर्वी नेपालमा गर्मी बढेसँगै चरम रगत अभाव भएपछि विभिन्न संघसस्थाहरुले रक्तदान गर्ने कार्यलाई तीव्र पारेका छन ।

रगत अभावलाई न्यूनीकरण गर्नकै लागि लायन्स 'डिस्ट्रिक्ट ३२५ सि' अन्तर्गत एरिया ४ का २६ ओटा लायन्स क्लबहरूले सुनसरीको इटहरीमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन ।

लायन्स वर्ष २०२५ को सुरुवातसँगै एरिया ४ अन्तर्गतका क्लबहरूले सामाजिक उत्तरदायित्व स्वरूप रक्तदान कार्यक्रमबाट आफ्नो कार्यकालको सुरुवात गर्ने भएका हुन्।

एरिया ४ का चिफ भोजराज दाहालका अनुसार यो कार्यक्रम क्लबहरूको समन्वय र सहकार्यमा सम्पन्न हुने पहिलो बृहत् कार्यक्रम हो।

"सामूहिक प्रयासबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो,"दाहालले भने।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ब्लड बैङ्क सँगको सहकार्यमा आयोजना गर्न लागिएको बृहत् रक्तदान कार्यक्रम इटहरी उपमहानगरपालिकाको गेट अगाडि गरिने जनाइएको छ । 

कार्यक्रममा सहभागी हुने क्लबहरूमा लायन्स क्लब इटहरी सुनसरी,इटहरी पचरुखी,इटहरी लबीपुर,इटहरी प्रोफेसनल,झुम्का,सिटिजन,इटहरी सिटी,तरहरा सुन्दर सिटी,इटहरी ग्रीन सिटी,इटहरी पाथीभरा,इटहरी बीपी चोक, र इटहरी मनकामना क्लब रहेका छन्।

त्यस्तै अन्य सहभागी क्लबहरूमा इटहरी व्यावसायिक प्रोफेसनल, तरहरा इटहरी,इटहरी तालतलैया,लायन्स क्लब अफ बराहक्षेत्र कालाबन्जार,सप्तकोसी डाइनामिक,लायन्स क्लब रामधुनी,इटहरी कर्पोरेट,इटहरी एक्टिभ,इटहरी क्रिएटिभ लेडी,इटहरी शान्तिनगर,स्मार्ट सिटी, इनोभेसन,सुपर सिटी र पूर्वाञ्चल क्लब रहेका छन्।

समाजसेवाको उदाहरणीय कार्यका रूपमा हेरिएको यस रक्तदान अभियानले आपत्कालीन रक्त अभाव न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र समन्वय लायन्स एरिया ४ को नेतृत्वमा भइरहेको छ। रक्तदान कार्यक्रम यहि मंगलबार बिहान ७ बजे हुने जनाइएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार