धनुषा । धनुषाको शहीदनगर नगरपालिका–८ बिसरभोरा निवासी १७ वर्षीय राजन दास राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन्।
पिता जोगेन्द्र दास तत्मा र आमा भुल्ली देवी दासका छोरा दास किशोर नेतृत्व र सामाजिक गतिविधिमा सक्रिय हुँदै आएका छन्। राष्ट्रिय किशोर सञ्जाल नेपाल सन् २०७८ साल साउन १४ गते 'बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी' भन्ने नारासहित स्थापना भएको हो।
सञ्जाललाई सिभिन नेपालले सञ्चालन गर्दै आएको छ। लैङ्गिक हिंसा अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन, जलवायु न्याय, यौन तथा प्रजनन अधिकार, अनलाइन सुरक्षा जस्ता विषयलाई मुख्य एजेन्डा बनाएर किशोर–किशोरीको सशक्तिकरणमा यो सञ्जाल काम गर्दै आएको छ। हाल यसमा २३ जना केन्द्रीय सदस्य रहेका छन्।
देशभरका सातै प्रदेशमा प्रादेशिक संरचना विस्तार गरी यसले किशोर–किशोरीलाई आफ्नो आवाज बुलन्द गर्न, अधिकारका लागि वकालत गर्न र राष्ट्रिय छलफलमा सहभागी हुन प्लेटफर्म उपलब्ध गराएको छ। विशेषगरी सीमान्तकृत, दुर्गम र जोखिममा रहेका किशोरकिशोरीलाई नेतृत्वमा ल्याउने उद्देश्य यस संस्थाले अघि सारेको छ।
राष्ट्रिय किशोर सञ्जालको तेस्रो राष्ट्रिय भेला हालै काठमाडौंको गोदावरीमा साउन २६ देखि २८ गतेसम्म सम्पन्न भएको थियो। भेलामा अध्यक्ष युवराज चापागाईं, पूर्व अध्यक्ष घनश्याम विश्वकर्मा, राष्ट्रिय सभाकी समिति सभापति कमला देवी पन्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर, राष्ट्रिय बाल अधिकार परिषदकी सदस्य सचिव इन्द्रा देवी दकाल, सेभ द चिल्ड्रेनकी प्रमुख तारा क्षेत्री, सिभिन नेपालका अध्यक्ष माधव प्रधानलगायत सरोकारवालाहरू सहभागी थिए।
राजन दासको मनोनयनसँगै मधेश प्रदेशका किशोरहरूको प्रतिनिधित्व सशक्त बनेको छ। किशोर सञ्जालले सामाजिक अवरोध तोड्न, किशोर–किशोरीलाई सशक्त बनाउन र उनीहरूको आवाज नीति निर्माण तहसम्म पुगोस् भन्ने लक्ष्य लिएको छ। दासले आफ्नो भूमिकालाई जिम्मेवार र सक्रिय बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया