भोजपुरको पौवादुङमामा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

आइतबार, १५ असार २०८२

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र विद्यालयलाई नगदसहित सम्मान गर्दै शैक्षिक क्षेत्रमा थप ऊर्जा प्रदान गरेको छ।

विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहित गर्न वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा ३,५,८ र १० का १२ जना विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत छात्रवृत्ति प्रदान गरिएको हो।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा उत्कृष्टता देखाउने विद्यार्थीलाई नियमित विद्यालय जान उत्प्रेरणा दिन यो कार्यक्रम सञ्चालित गरिएको हो। “हामीले शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले विविध कार्यक्रम गर्दै आएका छौँ,” उनले बताए, “छात्रवृत्तिले विद्यार्थीको मनोबल बढाएको छ।”

गाउँपालिकाभित्रका तिवारीभञ्याङ मावि,पञ्चकन्या मावि,मानेडाँडा मावि, सानोदुम्मा मावि,सूर्योदय मावि, सिंहबालसुधार र बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्।

त्यसैगरी,उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यालयमध्ये सानोदुम्मा माविलाई नगद रु ३ लाख र मानेडाँडा माविलाई रु २ लाखसहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताइन्। “हामी सामुदायिक विद्यालयहरूको सुधारमा गम्भीर छौँ,” उनले भनिन्।

स्थानीय पाठ्यपुस्तक निर्माण कार्यमा योगदान पुर्‍याउने कार्यदलका संयोजक सुनिता कटुवाल र सदस्यहरू मचिन्द्रकुमार राई,टलक कार्की,प्रकार राई, सन्तोष राई, नारायणबहादुर खड्का र रमेश कटुवाललाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार