बराहक्षेत्र । “जन्मोत्सवमा आफन्तलाई होइन, असहायलाई सम्झनु नै साँचो मानवता हो” भन्ने मूल भावलाई आत्मसात् गर्दै लायन्स क्लब अफ वराहक्षेत्र कालाबञ्जारका निवर्तमान अध्यक्ष तथा डिस्ट्रिक्ट ३२५ सी का क्याबिनेट अफिसर एरिया ४ का एओजी लायन सुनिल शाहले आफ्नो जन्मदिनमा असहाय बालकको पढाइ खर्चको जिम्मेवारी लिएका छन्।
शाहले डिजी प्रायोरिटी प्रोग्राम अन्तर्गत ‘वान क्लब वान स्टुडेन्ट स्कलरसिप’ अवधारणा अनुरूप बराहक्षेत्र नगरपालिका–३ का विपन्न बालक निशान थापाको कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने घोषणा गरेका हुन्। श्री जडेज मावि कालाबञ्जारमा कक्षा ३ मा अध्ययनरत निशान को पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेको छ।
कार्यक्रममा निशानलाई झोला, कापी, पोसाक तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको थियो। लायन शाहले यो सहयोगलाई स्थायी परियोजनाको रूपमा विस्तार गर्दै भविष्यमा कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक खर्च वहन गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रम लायन्स क्लब अफ वराहक्षेत्र कालाबञ्जारका अध्यक्ष लायन अभिषेक कार्कीको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि जिएटी एरिया–४ का एरिया चिफ लायन भोजराज दहाल, विशिष्ट अतिथि वराहक्षेत्र नगरपालिका वडा नं ५ का अध्यक्ष रोहित काफ्ले, न्यू भोइस लिडरसिप की कोर्डिनेटर लायन मेनुका गिरी, एरिया कोर्डिनेटर लायन टंक फुयाल, नेपाल रेडक्रस सोसाइटी भरोल उपशाखाका सभापति उत्तम चन्द्र साह र कोषाध्यक्ष धनराज राउत लगायत लायन्स सदस्यहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक लायन दुर्गानन्द दास (विक्रम) तथा जोन अध्यक्ष लायन सन्तोष चौलागाईंको समन्वयमा सम्पन्न कार्यक्रममा क्लबका चार्टर अध्यक्ष लायन राजन कार्कीले पनि शुभकामना व्यक्त गरेका थिए।
एरिया चिफ लायन भोजराज दहालका अनुसार यस खालका सामाजिक पहलले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास लिइएको छ।
प्रतिक्रिया