तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा अपाङ्ग समाज सुधार केन्द्रद्वारा सञ्चालित थेरापी सेन्टर गम्भीर आर्थिक अभावमा परेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरले उपलब्ध गराएको ३ लाख ५० हजार रुपैयाँको बजेटले कर्मचारीको तलबसमेत नपुगेपछि केन्द्रले ऋण खोजेर तलब दिनुपरेको छ।
थेरापी सेन्टरका अध्यक्ष ईश्वरीप्रसाद खड्काका अनुसार, हाल एक जना थेरापिस्ट, एक जना सहयोगी र एक जना कार्यालय सहयोगी गरी तीन जना कर्मचारी कार्यरत छन्। उनीहरूको वार्षिक तलब खर्च ५ लाखभन्दा बढी भए पनि नगरपालिकाबाट आवश्यक बजेट नआउँदा १ लाख ५० हजार रुपैयाँभन्दा बढी ऋण गरेर तलब खुवाइएको हो।
“नगरपालिकाले दिएको बजेट अपुग भएपछि ऋण खोज्न बाध्य भयौँ,” अध्यक्ष खड्काले भने। यद्यपि उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले केन्द्रको अपनत्व लिएको भए पनि सञ्चालनको सम्पूर्ण जिम्मेवारी अपाङ्ग समाज सुधार कार्यसमितिले वहन गरिरहेको छ।
हाल केन्द्रमा १९ जना सेवा प्राप्तकर्ता रहेका छन्, जसमा ९ जना आवासीय छन्। उनीहरूलाई बिहान-बेलुकी खाना र दिउँसो नास्तासमेत केन्द्रले नै व्यवस्थापन गरिरहेको छ। व्यवस्थापक हुमाकान्त कँडेलका अनुसार, जन्मदिन वा वैवाहिक वर्षगाँठ जस्ता अवसरमा प्राप्त हुने सहयोगका सामग्रीहरूबाट दैनिक व्यवस्थापन चलाइएको छ।
विसं २०७८ चैतदेखि सञ्चालनमा आएको यो केन्द्रले सेवा निःशुल्क प्रदान गर्दै आएको छ। भवन, उपकरण तथा सेवा भए पनि केन्द्रलाई आवश्यक न्यूनतम बजेटसमेत राज्यबाट नपाएको गुनासो छ।
लुम्बिनी प्रदेशमा सरकारीस्तरबाट सञ्चालित दुईवटा थेरापी केन्द्रमध्ये एक भएकाले यसलाई संघ र प्रदेश सरकारको पूर्ण व्यवस्थापनमा ल्याउनुपर्ने सरोकारवालाहरूको माग छ।
प्रतिक्रिया