महोत्तरी । धार्मिक एवं पारम्परिक अनेकौँ चाडपर्वको संस्कृति बोकेको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइने तयारी छ । चन्द्रमासको असार पूर्णिमाका दिन मनाइने यो पर्वमा गुरुप्रति भक्तिभाव र कृतज्ञता व्यक्त गरिन्छ । हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा पर्व मनाउँँदैछन् ।
यस दिन शिक्षा दिनेदेखि गायत्री तथा वेद सुनाउने र विशेष दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने हिन्दू मैथिल परम्परा छ । मिथिला अर्थात् विदेहभूमि महाज्ञानी अष्टावक्र, याज्ञवल्क्य, राजर्षि जनक तथा गार्गी एवं मैत्रेयीजस्ता विद्वान/विदुषीको साधना, तप र ज्ञान आर्जन र प्रचारको थलोका रुपमा परिचित छ ।
यो पर्व परम्पराको निरन्तरता मात्र नभएर पारिवारिक र सामाजिक अनुशासनको स्मरण गराउने अवसर पनि भएको मिथिला लोकपरम्परा र संस्कृतिका जानकार बताउँछन् । प्राचीन गुरुकुल परम्पराको शिक्षाले परिवार, समाज, राष्ट्र र चराचरजगत्प्रतिको दायित्व र कर्तव्यबारे ज्ञान दिएर परिपक्व नागरिक बनाउने गरेका सन्दर्भ प्राचीन साहित्य र इतिहासमा वर्णन पाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णव बताउँछन् । गुरुबाट प्राप्त शिक्षाले ज्ञानवान् भएका शिष्यले कृतज्ञता तथा अहोभाव व्यक्त गर्ने अवसरका रूपमा यो पर्वलाई लिने गरिएको वैष्णवको भनाइ छ ।
यस दिन गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्र आभूषण फेराउने र मिष्टान्न भोजन गराउने मैथिल परम्परा छ । पर्वविशेषले मिथिला क्षेत्रमा एक दिन पहिलेदेखि नै चहलपहल बढाएको छ । नयाँ वस्त्र, मिष्टान्न परिकार र फलफूल सौगातका रूपमा गुरुलाई चढाउने चलन छ ।
पर्वका अवसरमा मिथिला क्षेत्रका मठमन्दिरमा विशेष समारोह आयोजना गरिन्छ । यस्ता समारोहमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम सम्पन्न गरिन्छन् । महोत्तरीको मटिहानीस्थित पुरानो संस्कृत पाठशाला, भगवान् लक्ष्मीनारायण मन्दिर, महामुनि याज्ञवल्क्यका नाउँमा सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) र मुलुककै मठहरूमा महत्त्वपूर्ण मानिने श्री लक्ष्मीनारायण मठमा छात्रछात्रा, शिष्य र साधुसन्तले गुरुपूजनका कार्यक्रमको तयारी गरेका छन् ।
ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने पूर्वीय परम्परामा यस पर्वको महत्त्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाचार्य (प्रधानाध्यापक) ईश्वरी पौडेल बताउँछन् ।
यस पर्वले श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञताभाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ मुखरित गर्ने जलेश्वर–४ सुगाभवानीपट्टिका बासिन्दा पूर्वप्रशासक कृष्णचन्द्र झाको भनाइ छ ।
प्रतिक्रिया