'भगवान्‌जस्तै भएर आए प्रहरी…त्यसपछि ढुक्कले सुत्न पाइयो'

विहीबार, २६ असार २०८२

सिरहा । आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् २०६७ साल असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुन्, अस्मिन राउत ।

‘त्यो घटना वास्तवमै कहालीलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुपर्‍यो हाम्रो बस्तीले, ती घटना सम्झिँदा पनि नरमाइलो लाग्छ’, उनले भने । डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भए । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो । उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले ।

‘हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो । त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गाउँको दयनीय अवस्था प्रस्तुत गर्‍यौँ । स्थानीयको आग्रह र दबाबपछि तत्कालै पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना गरियो’, राउतले भने, ‘प्रहरी चौकी स्थापना भएसँगै गाउँको अवस्था फेरियो । त्यसयता हामीले कुनै डकैतीको त्रास व्यहोर्नु परेको छैन । रातमा गहिरो निद्रा सुत्न पाएका छौँ ।’

त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नम्बर १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो । त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो । रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो । बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले । महिलाहरू बिहान–साँझ खेतबारी जान थाले । गाउँलेमा पुनः आत्मविश्वास आयो ।

डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो । समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो, तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन । वर्षातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो । त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे । त्यसका लागि चन्दा संकलन अभियान सञ्चालन थाले । त्यो अभियान प्रभावकारी बन्दै गयो ।

गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे । विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे । सामूहिक प्रयासकै परिणाम स्वरूप निर्माण भयो- पाँचकोठे पक्की प्रहरी भवन । त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे ।

सुविधासम्पन्न प्रहरी चौकीको भवन बनेसँगै पक्की टोलवासीको खुसीको सीमा छैन । शान्तिसुरक्षा र अमनचयनको अनुभूति उनीहरूको हरेक अभिव्यक्तिमा झल्किन्छ । गाउँको परिवर्तनको कथा सुनाउँदै ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भन्छिन्, ‘पहिले गाउँमा प्रहरी नहुँदा घुर बालेर रातभर डाँका कतिबेला पो आउँलान् भनेर रोडमै जाग्राम बस्नुपर्थ्यो । त्यो दुःख सम्झेर उदेक लाग्छ । अहिले त ढुक्कले बस्न पाइएको छ ।’

उनले सुनाएअनुसार एक समय त यस्तो आयो, डाँकाहरू गाडीमै आएर गाउँ लुट्थे । प्रहरी आउँदासम्म सबै भागिसकेका हुन्थे । ‘धनमाल दिएन भने कुट्थे, कतै त मार्नेसम्म पनि गर्थे । दसैँजस्ता चाडबाडमा छोरा–नातीहरू घर आउँदा पनि डाँकाको डरले दुई दिन नबसी सहर फर्किन्थे । हामी बूढाबूढी मात्रै गाउँमा, युवाहरू बाहिर,’ अधिकारी विगत सम्झिँदै भन्छिन्, ‘प्रहरी त हाम्रो लागि भगवान्‌जस्तै भएर आएका हुन् बाबु । यही भएर गाउँलेहरू जीउधन लगाएर यो भवन बनाउन जुटे । अब चौकीमा दुई जना महिला प्रहरी पनि भए सहज हुन्थ्यो ।’

लक्ष्मीदेवी अधिकारीको भनाइ केवल विगतको पीडा होइन, यो सुरक्षा प्राप्तिको खुसी र सामुदायिक सफलताको आत्मगौरव पनि हो । गाउँमा सुरक्षाको सुनिश्चिततासँगै समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत भएको छ । यही सन्दर्भमा स्थानीयले भन्दै थिए, ‘वास्तवमै प्रहरी मेरो साथी भन्ने नारा प्रचारका लागि मात्रै रहेन, यो त व्यवहारमै लागू भएको छ ।’

यहाँ सुरक्षाको व्यवस्थापछि धेरै कुरा बदलिदिएको छ । कुनै समय प्रहरीसँग पनि डराउने यहाँको समाज अचेल प्रहरीलाई साथी, अभिभावक र सहारा मान्छन् । दुःख होस् या सुख, हरेक क्षणमा प्रहरी स्थानीयले सबैभन्दा पहिले सम्झिने आधार भनेको छ । भवन निर्माण समितिका अध्यक्षसमेत रहेका समाजसेवी राउतका अनुसार स्थानीय जनताबाटै करिब २५ लाख रुपैयाँ संकलन भएको थियो । गाउँलेहरूले सकेको आर्थिक, श्रम र भौतिक सहयोग गरेका थिए । उनले भने, ‘भवन निर्माणमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि केही आर्थिक सहयोग रह्यो । यही संयुक्त प्रयासले सुविधासम्पन्न पक्की भवन निर्माण सम्भव भएको हो । त्यसैले यो भवन केवल इँटा र गारो मात्रै होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको जीवित प्रतीक पनि हो ।’

भवन उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए । उनले भने, ‘समाजका अगुवाहरूले जग्गादान र चन्दा संकलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान साबित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने आधार पनि बनेको छ ।’

प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणका लागि निर्णायक आधार भएको बताउँछन् । प्रहरी संगठन समुदायमैत्री सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले समुदायसँगको सम्बन्धलाई केवल सुरक्षाको सवाल मात्र नभई विश्वास, सहभागिता र उत्तरदायित्वको सम्बन्धका रूपमा आफूले हेरेको बताए । ‘समुदायको सहयोगबिना कुनै पनि सुरक्षा प्रणाली पूर्ण हुँदैन, यो त समुदाय र प्रहरीको साझदारी तथा विश्वासमा अडेको हुन्छ । यहाँको उदाहरणले जब समुदाय सक्रिय हुन्छ, तब अपराध पन्छिन्छ र शान्ति दिगो कायम हुन्छ भनेर जबर्जस्त सन्देश दिएको छ ।’

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, ‘शान्ति सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार