विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट बुधबार साँझ ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले साँझ ६ः३५ बजेतिर गाँजा बरामद गरेको हो । गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा बरामद गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो ।
संयुक्त टोलीले २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उखुबारीबाट गाँजा बरामद गरेको हो । बरामद गरेर तौल गर्दा गाँजा ८ सय २ किलो रहेको डीएसपी चुँडालको भनाइ छ । अन्यत्र पनि गाँजा लुकाएर राखिएको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको उनले बताइन् । बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।
गाँजा कसले लुकाएको हो भनेर यकिन छैन । गाँजाको धन्दामा संलग्नलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि उखुबारीमा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया