धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ वितरण गरेको छ। स्थानीय स्तरमै उत्पादन भएका तरकारी तथा फलफूललाई लागतमैत्री ढंगले बजारसम्म पु-याउने उद्देश्यसहित नगरपालिकाले व्यवसायिक कृषकहरूलाई उक्त साधन हस्तान्तरण गरेको हो।
नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि संस्थालाई अनुदानमा सिटी सफारी प्रदान गरेको शाखा प्रमुख तुलसा लिम्बूले जानकारी दिइन्। उनका अनुसार एक सिटी सफारीको लागत ४ लाख २० हजार रुपैयाँ परेको छ, जसमा कृषकले २ लाख १० हजार मात्र तिर्नु पर्नेछ भने बाँकी खर्च नगरपालिकाले व्यहोरेको हो।
सहयोगबाट कृषकको समय र श्रमको बचत हुनुका साथै उत्पादन ढुवानीमा लाग्ने लागत घट्ने, ताजा उत्पादनको मूल्य संरक्षण हुने र बजारसम्म सहज पहुँच कायम हुने अपेक्षा गरिएको छ। वितरणमा पृतिचन माझी, बिष्ट कृषि फार्म, नवदुर्गा कृषि सहकारी संस्था र दाजुभाइ कृषि फार्म रहेका छन्।
सवारी साधन हस्तान्तरण कार्यक्रम उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, र आर्थिक विकास संयोजक तेजबहादुर गुरुङको उपस्थितिमा सम्पन्न भएको थियो।
बिष्ट कृषि फार्मका प्रतिनिधि अर्जुन बिष्टले यस्तो सहयोगले व्यवसायिक कृषकलाई हौसला मिलेको बताए। “हामीलाई सबैभन्दा ठूलो चुनौती भनेकै खेतको उत्पादन बजारसम्म पुर्याउने हो, अब ढुवानी सजिलो हुने र नोक्सानी कम हुने छ,” उनले भने।
कृषि शाखा प्रमुख लिम्बूले आगामी वर्षहरूमा यस्ता अनुदान कार्यक्रमलाई थप विस्तार गर्दै जाने योजना रहेको जानकारी दिइन्। “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कृषकको जीवनस्तर उकास्न हामी यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ,” उनले भनिन्।
प्रतिक्रिया