टीकापुर । कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन् ।
रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन् ।
सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ । उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन् ।
“ तीस लाख लगानी गरेको हुँ, वार्षिक एक हजार क्विन्टल उत्पादन हुने गरेको छ । सबै खर्च कटाएर मासिक एक लाख पचास हजारदेखि दुई लाखसम्म बचत हुन्छ”, किसान जोशीले भने । उनको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ । जग्गाको खोजीमा रहेका नारायण आयोजनाले सहयोग गरिरहेकाले आफू थप दश बिघामा सागसब्जीखेती गर्ने योजनामा रहेको बताए । उनले जैविक मलमात्र प्रयोग गरेर खेती गर्दै आएका छन् ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।
सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।
“खेती गर्दा माटोको संरक्षणबाटै सुरु गरेमा नारायणजस्तै राम्रो आम्दानी लिन सकिन्छ”, उनी भन्छन्, “किसानले माटो, वातावरण संरक्षणबाटै खेती थाल्नुपर्छ । यसरी ध्यान दिने किसानलाई हामीले बाली संरक्षणमा पनि सघाइरहेका छौँ ।”
सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको युवा किसानलाई कृषिमा प्रेरित गर्ने नीति भएको बताउँछन् । “यसरी प्रेरणादायी रुपमा काम गर्ने किसानलाई टेको लगाउने काम आयोजनाले गरिरहेको छ”, उनी भन्छन्, “कृषिमा जोशी परिवारको सफलता देख्दा खुसी लागेका छ ।”
आयोजनाको कमाण्ड क्षेत्रका किसानहरु व्यावसायिक बन्न किसानको आवश्यकताका आधारमा आयोजनाले बीउबिजनमा ५० प्रतिशत अनुदान, नयाँ प्रविधिमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।
सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गरेका किसान नारायणका बुबा प्रेमप्रसाद जोशीलाई दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए । राष्ट्रपतिले नगद दुई लाखसहित उनलाई कृषिका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान दिएको भन्दै पुरस्कृत गरेका हुन् ।
प्रतिक्रिया