'जनसंख्या अध्ययनले मात्र प्रमाणमा आधारित नीति बनाउन सकिन्छ'

शुक्रबार, २७ असार २०८२

जनसंख्यामा गतिशीत प्रजनन क्षमता जन्म, मृत्यु र बसाइसराईले विकासका हरेक पूर्वाधारमा प्रभाव पारेका हुन्छन् । जनसंख्या गतिशीलता भनेको जनसंख्याको समग्र संरचनागत पक्षले विकासका हरेक तहमा प्रभाव पार्छ।

जनसंख्या बढ्नु भनेको विकासका स्रोतहरुको उपयोग गर्नुपर्ने बाध्यता बढ्नु हो र स्रोतहरुलाई परिचालित गर्दा जनसंख्याको आकारका बारेमा अध्ययन गर्न जरुरी छ। जनसंख्याको आकारसँगै वितरणको कुरा पनि आउँछ। अहिले जनसंख्या गाउँमा भन्दा सहरमा बढी छ।

सहरमा स्रोतहरुको उपभोग बढी छ। गाउँमा कम छ। सहरमा स्रोत हुँदैन गाउँबाट ल्याइएका हुन्छन्। यसले जनसंख्याको वितरणको तरिकामा ठूलो प्रभाव पार्छ।

जनसंख्याको संरचनागत पक्षलाई भूगोलले पनि प्रभाव पार्छ। समथर भू-भागमा मानिसहरुको बसाइ बढी हुन्छ। पहाडी भू-भाग र भिरालो जमिनमा मानिसहरु कम बस्छन्। यी कुराहरु जनसंख्या र विकास सिधै ठोकिने कुरा हुन्। जन्म, मृत्यु, बसाइसराइले संरचनागत पक्षमा प्रभाव पार्छ र संरचनाको पक्षसँग गासिएर विकासमा प्रत्येक तहहरुमा त्यसको प्रभाव रहेको हुन्छ।

हामीले विकासका लागि नीति बनाउँछौं। प्रमाणमा आधारित नीति बनाउन जनसंख्याको संरचनागत पक्ष चाहिन्छ। प्रमाणमा आधारित नीति बनाउने प्रक्रियामा जनसंख्याको वास्तविक तथ्याङ कहाँ, कति मान्छे बसेको छन् भन्नेबारे जानकारी हुनुपर्छ।

जनसंख्याको तथ्यांक हेर्दा उमेरगत, लैगिंक संरचना, भौगोलिक वितरणलाई ध्यान दिने गर्छौं। बस्तीको कुरा गर्दा सहरी बस्ती, ग्रामीण बस्ती, अर्ध-शहरी जस्ता संरचनागत पक्षलाई अध्ययन गरेर प्रमाणमा आधारित नीति बनाउन सहयोग गर्छ।

त्यसैले जनसंख्या अध्ययनले नीति बनाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा भुल्न भएन। जनसंख्या अध्ययन किन गर्ने भन्दा प्रमाणमा आधारित नीति बनाउन यो विषय छनोट गरेर पढ्ने हो। राष्ट्रिय तहमा जनसंख्याका थुप्रै चुनौतिहरु छन्। नेपालको सन्दर्भमा युवा पलायन भएका छन् यो सकारात्मक होइन्। ती युवालाई स्वदेशकै स्रोत परिचालन गरेर रोक्न सक्नुपर्छ।

अरु मुलुकले हाम्रा युवालाई प्रयोग गरेर विकाससहित आय आर्जन राम्रो गरिरहेका छन्। त्यस्तो हामीले पनि यही गर्न सक्थ्यौं  अर्को चुनौति भनेको बुढ्यौलीपन पनि हो। यस्तो तिव्ररुपमा नेपालका बढिरहेको छ।

१९९१ मा ५ प्रतिशत भन्दा कम ६० वर्ष भन्दा माथिको बुढ्यौली जनसंख्या थियो भने अहिलेको अन्तिम ०७८ ले १०.२ प्रतिशत बुढ्यौली जनसंख्या पुगेको देखाएको छ। अव राज्यले बुढ्यौली जनसंख्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अवस्था छ। बुढ्यौली जनसंख्याबाट विश्वका धेरै देशले अनुभव हासिल गरेका छन् प्रगति गरेका छन्। यस्ता कुरा बुझ्न जनसंख्या अध्ययन गर्नुपर्छ। अहिले हाम्रो जन्मदर तिव्ररुपमा घटिरहेका छन्। प्रजननमा प्रभाव परिरहेको छ।

जन्मदर घट्नु निरन्तर मृत्युदर घटेर जानु र बुढ्यौली उमेर समूहका मानिस बढ्नुले हाम्रो सक्रिय जनसंख्या तिव्र गतिले घट्ने देखिन्छ। यस्ता चुनौतिहरु पनि छन्।  यस्ता विषयलाई समयमा नै नियन्त्रणमा लिएर समाधान दिन लागिएन भने मुलुकले नराम्रो चुनौति भोग्न बाध्य हुन्छ। यस्तो कुरालाई विशेष ध्यान दिनुपर्छ।

किन पढ्ने जनसंख्या ?

विश्वव्यापी रुपमा दिगो विकासको अवधारणा आएको छ। त्यसमा गरिवी घटाउने, वातावरण सन्तुलित बनाउन पर्यावरणीय जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने लगायतका धेरै कुराहरु छन्। विश्वको लक्ष्य प्राप्त गर्नका लागि हामी जनसंख्यामा केन्द्रित हुनुपर्छ। जनसंख्याको विविध पक्षको अध्ययन विना हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौं। प्रमाणमा आधार भई अगाडि बढ्न जनसंख्या अध्ययन अनिवार्य छ।

जनसंख्या र स्वास्थ्यको कुरा गर्दा जनसंख्या र स्वास्थ्यको अन्तसम्बन्ध हुन्छ। समाजिक पद्धतिसँग जनसंख्याको कस्तो सम्बन्ध रहेको हुन्छ भनेर पाठ्यक्रममा राखेका छौं। जनसंख्याभित्र वालवालिका, युवा, प्रौढ र बुढ्यौलीको कुरा गर्छौ र त्यसभित्र तिनीहरुले भोगेका कुराहरु समावेशव गरिएको छ।

त्यसमा स्वास्थ्यसँग सम्बन्धित विषयहरु, युवाहरुको चुनौतिहरुका विषयहरु छन्। त्यसमा सामाजिक व्यवस्थाको तालमेल भएको हुन्छ। यस्ता कुरा हामीले जनसंख्या अध्ययन भित्र बसेर काम गर्नुपर्ने हुन्छ।

जनसंख्या अध्ययनले अनुसन्धानको प्रक्रियामा पनि बढी महत्व दिएको छ। विशेषगरी तथ्यांकमा आधारित भएर कसको के आवश्यकता हो त्यसलाई सम्बोधन गर्न अनुसन्धान जरुरी पर्छ। जस्तै, राजनीतिज्ञहरुले आफ्नो जनमत विश्लेषण गर्न, व्यवसायीले उमेर समूहका आधारमा उत्पादनमा जोड दिन सक्छ।

जनसंख्या आप्रवासन र बसाइसराइका कुराहरुमा राज्यले वास्तविक तथ्यांक प्राप्त गर्न सक्छ। यस्ता अनुसन्धानहरुले जनसंख्या अध्ययन विषयको महत्व दर्शाउँछ। बाहिरी मुलुकका विकासका साथै अनुभवहरु साटासाट गर्न सकिन्छ। जस्तै चीन र जापानले बुढ्यौली जनसंख्या नियन्त्रण गर्नका लागि गरेका अनुभवहरु हामीलाई काम लाग्नसक्छ। उनीहरुका अनुभवले हामीलाई सहयोग पुर्याउँछ। यसका लागि जनसंख्या संरचनागत पक्षको अध्ययन धेरै महत्वपूर्ण छ।

विद्यार्थी क्रेज र अवसर

समय सापेक्षित विषयहरु आएपनि जनसंख्या विषय अध्ययन गर्नेको संख्यामा कमी छैन। देशभरका धेरैजसो कलेजहरुले स्नातक तहमा जनसंख्याको विषय पढाइ रहेका छन्। मास्टर लेभल र एमफीलमा पनि जनसंख्या पढ्नेहरु छन्।

उपत्यकाका पाटन बहुमुखी क्याम्पस, आरआर क्याम्पस र पद्मकन्या क्याम्पसमा यो विषय पढनेहरुको कमी छैन। पृथ्वीनाराण क्याम्पस पोखरा, वालिङ, जनकपुर, सिन्धुली, तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुमलगायतका क्षेत्रमा पनि जनसंख्या पढाइ भइरहेको छ।

हालैको वर्षमा मास्टर डिग्रीको प्रथम सेमिस्टरमा १४२ जना भर्ना भएको स्थिति छ। अहिले नयाँ कोर्ष पनि भएकाले आकर्षण छ। तर पहिलेजस्तो आकर्षण चाहिँ छैन। विश्वविद्यालयले तीन वर्षे स्नातक तहलाई चार वर्षे बनाएको छ। त्यसलाई सक्न पाँच वर्ष लाग्छ। अनि मास्टर डिग्री सक्न अरु दुई बर्ष लाग्छ।  कतिपय अवस्थामा आर्थिक क्षमता कमजोर भएका कारण इच्छा हुदाँ पनि पढ्न नपाएको देखिन्छ।

जे जतिले जनसंख्या अध्ययनलाई निरन्तर पढिरहेका छन् उनीहरुलाई रोजगारीको समस्या होला जस्तो लाग्दैन। अहिले जनसंख्या अध्ययनको महत्वलाई ध्यानमा राखेर सरकारले ७५३ वटा सरकारका स्थानीय निकायहरुमा एक एक जना भएपनि जनसंख्या अध्ययन गरेका विज्ञ राख्नुपर्छ। जसका कारण राज्यले नीति बनाउन, विभिन्न कार्यक्रम गर्नका लागि सहज वातावरण हुन्छ।

हरेक निकायमा जनसंख्या विज्ञ राख्दा राज्यका कार्यक्रमहरु प्रभावकारी हुन्छन्। विज्ञ अनिवार्य गर्नैपर्छ। त्यसले तथ्यगत कुराहरु केलाउछ र विकासलाई सहज बनाउँछ। ७५३ ठाउँकै जनसंख्याका विवरणलाई चुस्त दुरुस्त गराउनको लागि जनसंख्या विज्ञ जरुरी पनि छ।

जनसंख्याको महत्व

जन्म, मृत्यु, बसाइसराइसँगै जथाभावी मानव बस्ती बढ्दो छ। त्यो कति लाभदायक छ भन्ने कुरामा नीति बनाउनुपर्ने हुन्छ। साथै अन्तर्राष्ट्रिय बहस चलाउने जस्ता कुरामा जनसंख्या विषय आवश्यक छन्। कानून, शिक्षा, स्वास्थ्य क्षेत्र सबैमा जनसंख्या विषयम ठोकिन्छन्। वातावरणीय अवस्था, जलवायू परिवर्तनका कुराहरु, विगत, बर्तमान र भविश्यका सम्भावनाका कुरा गर्नपनि संख्या वा डाटाको आवश्यक पर्छ।

हाम्रो जनगणनाको तथ्य १० वर्षमा मात्र आउँछ। त्यो पनि सबै आउँदैन। विषयगत र विस्तृतरुपमा तथ्यांगत रुपमा आउँदैन। जनगणना १०-१० वर्षमा हुन्छ। जनसंख्याभित्रको विविध पक्षको समग्र पक्षलाई जनगणनाले खिच्न सक्दैन। नेपालको जनसंख्या समग्रमा घटेको होइन। जनसंख्या बृद्धिदर झरेको वा घटेको हो। जनसंख्याको आकार घटेको होइन्। यस विषयमा बुझ्न जरुरी छ।

राज्यको नीति नियम बनाउने ठाउँका जनसंख्या बुझेका मानिस जान जरुरी छ। पछिल्लो समय टेक्नोलोजिले स्रोतहरुलाई सक्ने काम गरिरहेको छ । विकसित मुलुकका एक जनाले उपभोग गर्ने स्रोत र अविकसित मुलुकका २५ जना मानिसले उपभोग गर्ने स्रोत बराबर हुन्छ।  किनभने टेक्नोलोजिले अगाडि बढेकाहरुले उपभोग्य स्रोतहरु बढी उपभोग गरिरहेका छन्। यसले स्रोतहरु सकिदै जाने र जनसंख्याको आकार बढ्दै गएको छ।

जनसंख्या भित्रको पक्षलाई सन्तुलित र व्यवस्थित गर्न जरुरी छ। जनसंख्याभित्र पनि जनसंख्या गतिशीलता उतारचढावमा छ। यसले सन्तुलित जनसंख्याको संरचनागत पाटोले स्रोतको प्रयोगको मात्रलाई पनि सन्तुलित बनाउन सकिन्छ र दिगो रुपमा लान सकिन्छ । यसले मानव जातीसँगै पृथ्वीमा रहने जिवहरुको आफू रहनुञ्जेल सहज जीवन विताउन सकुन् भन्नका लागि पनि जनसंख्यालाई लान सकिन्छ।

विद्यार्थीहरुको सीप र क्षमता बढाउन राज्यले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ। तालिमलगायतका अवसर शिक्षकहरुलाई दिनु आवश्यक छ। नयाँ नयाँ प्रविधिहरुलाई प्राध्यापनमा समायोजन गर्नुपर्छ। विद्यार्थीलाई प्रविधिमैत्री वातावरण दिनुपर्छ। यसले विद्यार्थीले दक्ष सीप हासिल गर्न सकुन्। त्यसलाई राज्यले व्यस्थित गर्नुपर्छ । यसमा राज्य सचेत हुन् जरुरी छ।

शिक्षण संस्थाहरुमा कस्तो मानव शक्ति कहाँ प्रयोग गर्ने भन्ने कुरा सोच्न जरुरी छ। शिक्षण संस्थाहरुले पाठ्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ। स्थान विशेषका कुराहरुलाई पहिचान गरि परिचालन गर्ने जनसंख्या कस्तो हुनुपर्ने, उपभोग कसले गर्नेजस्ता कुरा पहिचान गरी विकासलाई टेवा दिन सकिन्छ। रोजगार सिर्जना गर्ने कुरालाई पनि राज्यले पठनपाठनमा स्थान दिएर पाठ्यक्रम निर्माण गर्न लगाउनुपर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार