झापा : झापाको दमकमा स्कुटरको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ। दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मङ्गलवार राति उपचारका क्रममा निधन भएको हो।
श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० को जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो।
गम्भीर घाइते अवस्थामा उनलाई तत्काल दमकको निम्स अस्पतालमा पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारले उनीलाई पुनः घर फर्काएका थिए।
स्वास्थ्य अवस्था झन् गम्भीर भएपछि उनलाई दमक अस्पतालमा भर्ना गरिएको थियो। तर, मङ्गलवार राति ८:५८ बजे उपचारकै क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटर चालक १६ वर्षीय किशोर हुन्, जो तेह्रथुम म्याङलुङ घर भई हाल दमक–१० मा बस्दै आएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
मृतक श्रेष्ठको शव दमक अस्पतालमै पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि छोरा सुरेशकुमार श्रेष्ठले बुधवार अपराह्न शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्।
प्रतिक्रिया