विराटनगर : कोशी प्रदेश अन्तर्गत झापाको कलवलगुरीमा अवस्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो परिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारले एकमुष्ट उपलब्ध गराएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख सहित २ करोड ८६ लाख रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरेको हो।
साथै, प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम पनि स्वीकृत गरिएको छ। प्रशिक्षण प्रतिष्ठानले जानकारी दिएको अनुसार उक्त बजेट प्रदेश सभाबाट पारित भइसकेको छ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्मचारीहरूलाई स्मार्टनेस विकास गराउने किसिमका तालिमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले,“प्रतिष्ठानलाई सबैले चिनेको र विश्वास गर्ने संस्थाका रूपमा स्थापित गर्नुपर्छ,” भन्दै आधुनिक प्रविधिको प्रयोग र जनमैत्री अभ्यासमार्फत संस्थालाई अगाडि बढाउने दिशामा काम गर्न निर्देशन दिए।
बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष, साथै विभिन्न स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूको उपस्थिति थियो।
प्रतिक्रिया