धरान : धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा रहेका कलेजो रोगी रोशन राईको स्वास्थ्य अवस्था बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएससीएच) का निमित्त उपकुलपति प्रा.डा. सञ्जीव शर्मा आफैँ झुपडीमै पुगेका छन्।
आर्थिक अभावका कारण अस्पताल जान नसकेका राईको अवस्था बारे मजदुर नेता भीमज्वाला राईको पहलमा डा. शर्मा सुकुम्बासी बस्तीमै पुगेर चेकजाँच गरेका हुन्। मुटु तथा मृगौला रोग विशेषज्ञ समेत रहेका डा. शर्माले बिरामीको सम्पूर्ण रिपोर्ट अवलोकन गरेपछि प्रारम्भिक औषधि सिफारिस गर्दै चार दिनपछि अस्पतालमा भर्ना गरी पेटको पानी निकाल्नुपर्ने जानकारी दिएका छन्।
“अस्पतालको तर्फबाट सक्दो सहयोग गर्नेछौँ,” डा. शर्माले बिरामीको परिवारलाई आश्वासन दिए। उनले यसअघि कोशी प्रदेशका विभिन्न जिल्लामा करिब ५० हजार नागरिकको निःशुल्क मृगौला परीक्षण गरिसकेको जनाइएको छ।
झुपडीमा पहिलोपटक यति उच्च ओहदाको चिकित्सक आइपुगेको भन्दै वडा नं. ८ का अध्यक्ष धनबहादुर राईले डा. शर्मालाई स्वागत गरे।
दाउरा बेचेर गुजारा चलाउने ४० वर्षीय रोशन राई वैशाखदेखि जण्डिस र मृगौलामा समस्या देखिएपछि थला परेका हुन्। चिकित्सकको अनुसार उनको कलेजो प्रत्यारोपणका लागि करिब १५ लाख रुपैयाँ आवश्यक पर्नेछ।
राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पहल थालेको छ। संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार जोसुकैले पनि सहयोग गर्न चाहेमा पीडित परिवारकी श्रीमती शान्ति तामाङको मोबाइल नम्बर ९७०८२५५३११ मा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया