मन्त्री पौडेलको एक वर्षे कार्यकाल : आधारभूत सुधारदेखि ऐतिहासिक अभियानसम्म

सोमबार, ०५ साउन २०८२

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उपलब्धिहरु सार्वजनिक गरेको हुन् ।

नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु‍र्याउने लक्ष्यअनुसार मन्त्री पौडेलको नेतृत्वमा ५,१० र १५ शैय्याका अस्पतालहरूको निर्माण र सञ्चालनमा तीव्रता दिइएको छ । यसअन्तर्गत ११३ अस्पताल निर्माण सम्पन्न भइसकेको छ भने नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

फागुन महिनालाई ‘नसर्ने रोग परीक्षण महिना’ र श्रावणलाई ‘डेंगु सचेतना महिना’ को रूपमा मनाउने निर्णयसँगै नसर्ने रोग नियन्त्रण अभियान र समुदाय केन्द्रित लामखुट्टे नियन्त्रण कार्यक्रमको थालनी गरिएको समेत मन्त्री पौडेलले बताए ।

१० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीलाई एचपीभी खोप दिइएको छ, जसले पाठेघरको मुखको क्यान्सरबाट बचाउने विश्वास गरिएको छ । यो कार्यक्रमलाई आगामी वर्षदेखि नियमित खोप कार्यक्रमअन्तर्गत ल्याउने तयारी गरिएको छ ।

क्यान्सर, मुटु रोग, जलन उपचार, निःसन्तान समस्या, र अंग प्रत्यारोपण सेवा संघीय राजधानीबाहिर विस्तार गरिएको छ । सातै प्रदेशमा जलन उपचार सेवा विस्तार हुँदैछ भने मधेश र गण्डकी प्रदेशमा मुटु उपचार सेवा सुरु भइसकेको छ ।

सिकलसेल एनेमिया, हिमोफिलिया, र पक्षघात जस्ता रोगका बिरामीलाई आवश्यक जीवनरक्षक औषधिहरू निःशुल्क प्रदान गर्न थालिएको छ । साथै, स्वास्थ्य बीमा प्रणालीमा व्यापक सुधार गरिँदै नवीकरण प्रक्रिया सरल बनाइएको, रिफरल प्रणाली परिमार्जन गरिएको तथा दीर्घ रोगीका लागि उपचार सीमा बढाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार