विजय र सुवास कोशीमा असार महिनाका सर्वोत्कृष्ट प्रहरी

सोमबार, ०५ साउन २०८२

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो।

प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र साहसिक कार्यका लागि पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्ति र कार नियन्त्रणमा लिइयो। भद्रपुर–७ मा प्रहरीले ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ गरे। त्यस्तै, झापा गाउँपालिका–४ मा साइकलबाट लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा १६७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका थिए।

यता, नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेका थिए। त्यस्तै, जन्मकैदको सजाय पाएका र अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए। लागूऔषध दुव्र्यसन नियन्त्रणमा पनि उनले उल्लेखनीय भूमिका खेलेको प्रहरीले जनाएको छ।

उल्लेखित दुवै प्रहरी अधिकृतको उत्कृष्ट कार्य, विभागीय मूल्य–मान्यता तथा निर्देशनको प्रभावकारी कार्यान्वयनको उच्च मूल्याङ्कन गर्दै असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै सम्मान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार