बिर्तामोड : राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईँले ५० हजार रुपैयाँ बराबरको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक खरिद गरेर सहयोग गरेकी हुन् ।
कार्यक्रममा नगर प्रमुख प्रसाईँले केन्द्रका अध्यक्ष महावीर पुनको प्रशंसा गर्दै पुनले सञ्चालन गरेको अभियान अत्यन्त महत्त्वपूर्ण रहेको बताइन् । नगर प्रमुख प्रसाईँले पुस्तक खरिद गरेर सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकी छन् ।
त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले डा. पुनको प्रयासको सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरका छन् ।
डा.पुनले आफ्नो जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ देशका विभिन्न पालिकामा पुगेर बिक्री गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै डा. पुनले पुस्तक मुख्यतः युवाहरूलाई लक्षित गरेर लेखिएको जानकारी दिए । साथै, सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न आग्रह गर्दै, देशका लागि आ–आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए ।
डा.पुनका अनुसार हालसम्म २ लाख १८ हजार प्रति पुस्तक बिक्री भइसकेको छ, जसबाट खर्च कटाएर १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको छ। उक्त पुस्तकको मूल्य प्रति ७५० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया