४३औँ बीपी स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

मंगलबार, ०६ साउन २०८२
तस्बिर : फाइल

काठमाडौँ : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातन्त्र स्थापनाका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज ४३औँ बीपी स्मृति दिवस मुलुकभर विविध कार्यक्रमसहित मनाइँदै छ।

वि.सं. २०३९ साउन ६ गते निधन भएका कोइरालाले नेपालको राजनीतिमा मात्र होइन, नेपाली साहित्यको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइराला वि.सं. २०१६ जेठमा संसदीय निर्वाचनपश्चात् नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले "बिर्ता उन्मूलन", "जग्गा जोत्नेको हुनुपर्छ"जस्ता ऐतिहासिक भूमिसुधार कार्यक्रम सञ्चालन गरेका थिए।

बीपी कोइरालाको साहित्यिक योगदान पनि उल्लेखनीय छ। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक मानिने कोइरालाका चर्चित कृतिहरूमा ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिट्लर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यास छन्। साथै ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’ कथा सङ्ग्रह, आत्मवृत्तान्त ‘जेल जर्नल’ र ‘फेरि सुन्दरी जल’ जस्ता कृतिहरूबाट तत्कालीन राजनीतिक परिस्थिति झल्किन्छ।

वि.सं. २०१७ मा सैनिक बलमा जननिर्वाचित सरकार अपदस्त गरेपछि बिपीसहित कांग्रेस नेताहरूलाई सुन्दरी जल बन्दी गृहमा राखिएको थियो।

वि.सं. २०२५ मा जेलमुक्त भएपछि उनी भारतमा निर्वासित जीवन बिताउँदै रहे। वि.सं. २०३३ मा आठ ज्यान मुद्दाको परवाह नगरी उनले ‘राष्ट्रिय एकता र मेलमिलाप’को नीति लिँदै नेपाल फर्किएका थिए। कोइरालाको मेलमिलाप नीति आज पनि नेपाली राजनीतिमा सान्दर्भिक विषय मानिन्छ।

उनको सम्झनामा सुन्दरीजलको पुरानो बन्दीगृहलाई वि.सं. २०६१ मा ‘बिपी सङ्ग्रहालय’का रूपमा उद्घाटन गरिएको थियो।

यस सङ्ग्रहालयमा कोइरालाको जीवनसँग जोडिएका सामग्रीहरू, २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर तथा २०२९ सालमा काँग्रेसले अपहरण गरेको वायुसेवा निगमको विमान समेत राखिएको छ। भूकम्पले क्षतिग्रस्त उक्त सङ्ग्रहालयको पुनर्निर्माण गरिएको छ।

आजको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, त्यसका भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिको आयोजनामा देशभर विविध कार्यक्रमहरू हुँदैछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम पनि राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार