झापाको ओली चोकमा आगलागी, जलेर एकै परिवारका ४ जना घाइते

मंगलबार, ०६ साउन २०८२

विराटनगर : झापाको हल्दीबारी गाउँपालिका ४ ओली चोकमा मंगलबार बिहान घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर एकै परिवारका चार जना घाइते भएका छन् ।

६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रोटी पकाउने क्रममा बिहान ८ः४० बजे आगलागी भएको हो । आगो नियन्त्रण गर्ने प्रयासमा घरधनी ओलीसहित उनका छोराहरु ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली र ३२ वर्षीया बुहारी अनिता ओली घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई सुरुमा भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि विराटनगर ल्याइएको छ ।

आगलागीले घरको भान्सा कोठामा आंशिक क्षति पुगेको छ । स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार