मोरङको क्रसरमा करेन्ट लागेर गोरखाका चेपाङको मृत्यु

मंगलबार, ०६ साउन २०८२

विराटनगर : मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीमा रहेको क्रसर उद्योगमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ । 

गोरखा जिल्लाको गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मङ्गल चेपाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। मृतक चेपाङ आमजुँगीस्थित महादेव क्रसर उद्योगमा वेल्डिङ मिस्त्रीको रूपमा कार्यरत थिए। 

सोमबार राति करिब १० बजेतिर वेल्डिङको काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी चुँडालले बताइन् । 

प्रहरीका अनुसार चेपाङ उक्त क्रसरमा करिब दुई महिनाअघि मात्र मिस्त्रीका रूपमा काम गर्न आएका थिए। मृतकको शव हाल बीपी कोइराला प्रतिष्ठानमै राखिएको छ भने परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

क्रसर उद्योगमा पूर्ववडाध्यक्ष मनोज खड्कालगायतको लगानी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको कारण पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार