धरानमा गोरुको मासु खाएको भन्दै पक्राउ, तर, परीक्षण नै नगरी रिहा

सोमबार, ०५ साउन २०८२
सांकेतिक फाईल

धरान : सांस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवसका अवसरमा धरानमा आयोजित कार्यक्रममा सहभागी भएकाहरूलाई गोरुको मासु खाएको आशङ्कामा प्रहरीले पक्राउ गरी पछि पुन पुष्टि नहुँदै रिहा गरेको छ । प्रहरीले पक्राउ र रिहा दुवै प्रक्रिया कुनै वैज्ञानिक पुष्टि र कानुनी आधारविना गरिएको भन्दै आदिवासी समुदाय, अभियन्ता र नेताहरूले तीव्र आपत्ति जनाएका छन् ।

धरान ११ स्वास्तिका चोकमा खाजा खाइरहेका सात जनालाई इलाका प्रहरी कार्यालय धरानको टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका युवा कवि तथा अभियन्ता अमित थेबे, भीम बहादुर लिम्बु, बिन्द्र राई, मिलन राई, समृत मादेन लिम्बु, राजकुमार मगर र अर्जुन कुमार राईलाई साँझ करिब साढे ८ बजे नै रिहा गरियो । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले पक्राउबारे बोल्दै भने, गोरुको मासु खाएको आशङ्का गरिएको थियो । पछि गोरुको मासु नै हो कि होइन भन्ने पुष्टि नभएपछि हामीले उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाडेका छौँ । उनले भने, हाल मासु परीक्षणको लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । 

समितिका अध्यक्ष सुवास हुक्पा चोङवाङले कुनै अप्रिय घटना नभएको अवस्थामा प्रहरीको यस्तो कदम स्वीकार्य नभएको बताए । यो सांस्कृतिक अधिकारमाथिको हस्तक्षेप हो । उनले भने, ‘हामी औपचारिक कार्यक्रम सकेर बाहिरिएका थियौँ । केही पाहुनाहरू खाजा खाइरहनुभएको बेला प्रहरी आएर नियन्त्रणमा लियो ।’

समितिले प्रत्येक वर्ष साउन ५ गते स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष ’गोरु चिन्तन’ पुस्तकका लेखक जनकऋषि राईलाई सम्मान गरिनु पनि समारोहको हिस्सा थियो । समितिले गोरु काट्न पाउने अधिकारलाई आदिवासी समुदायको सांस्कृतिक अभ्यासको रूपमा व्याख्या गर्दै आएको छ ।

पक्राउ परेका मध्येका एक युवा कवि तथा अभियन्ता अमित थेबेले भने, ‘हामी हाम्रो पहिचान अनुसारको संस्कृति अभ्यास गर्दै थियौँ । संविधानले दिइसकेको अधिकारमा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय छ । बाझिएका कानुनी प्रावधानहरू संशोधन हुनुपर्छ ।’

त्यस्तै, पहिचानवादी नेता जेन्टल लावतीले भने,‘मान्छेले के खायो के खाएन भन्ने कुरामा कानुन लगाउनु गलत हो । यो सांस्कृतिक अधिकारको खण्डन हो । स्थापना दिवसकै दिन यस्तो दमन गर्नु आपत्तिजनक छ । संविधानमा यस्ता विषय स्पष्ट गरिनु आवश्यक छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार