‘नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपीको स्पष्ट धारणा थियो’ : नेता सिटौला

मंगलबार, ०६ साउन २०८२

पाटन (ललितपुर) : नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जननेता बिपी कोइरालाको राष्ट्रप्रेम, लोकतान्त्रिक मूल्य र स्वाधीनताप्रतिको निष्ठापूर्ण धारणा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

‘स्मृतिमा बिपी’ शीर्षकको विचार गोष्ठीमा बोल्दै नेता सिटौलाले बिपी कोइरालाले सधैँ विदेशी हस्तक्षेपको विरोध गर्दै स्वतन्त्र राष्ट्रको पक्षमा दृढ अडान लिएको स्मरण गराए। उनले भने, “राष्ट्र भनेको जनता हुन्, जनताको अधिकारबिनाको राष्ट्र निरर्थक हुन्छ भन्ने उहाँको धारणा आज झनै महत्त्वपूर्ण छ।”

सिटौलाले बिपी कोइरालाले लोकतन्त्रको पक्षमा कुनै पनि सम्झौता नगरेको स्पष्ट गर्दै फाँसीको मुद्दा विचाराधीन हुँदा समेत राजासँग सहकार्य गरेर लोकतान्त्रिक आन्दोलन अघि बढाएको उदाहरण प्रस्तुत गरे। साथै उनले राजा ज्ञानेन्द्रद्वारा लोकतान्त्रिक मूल्यमाथि प्रहार भएपछि राजतन्त्रको अन्त्य हुनु स्वाभाविक भएको तर्क गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले पञ्चायतकालमा कोइराला परिवारले भोगेको सङ्घर्ष र योगदानको चर्चा गर्दै बिपीले देखाएको मार्ग पछ्याउँदै व्यावहारिक विकास र समृद्धिको बाटो समाउनुपर्ने धारणा राखे।

राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले बिपीलाई सम्झन वर्षमा दुई दिन मात्र नभई हरेक दिन व्यवहारमा उतार्न जरुरी रहेको बताए। “बिपीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन हुन सके मात्र उहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ,” बस्नेतले भने।

त्यसैगरी कांग्रेस नेतृ धना खतिवडाले बिपीले परिकल्पना गरेको लोकतान्त्रिक शासन प्रणाली, आर्थिक समृद्धि र राजनीतिक स्वतन्त्रता आजको प्रमुख आवश्यकता भएको बताइन्।

गोष्ठीमा कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, ललितपुर उपसभापति सुदर्शन घिमिरे, क्षेत्र नं. २ सभापति महेश खड्का लगायतका नेताहरूले पनि बिपीप्रतिको श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसको वर्तमान भूमिकाबारे धारणा राखेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार