लागुऔषधविरुद्ध कोशीमा प्रहरी आक्रामक, एक वर्षमै करिब दुई हजार जना पक्राउ

विहीबार, ०८ साउन २०८२

विराटनगर : कोशी प्रदेशमा लागुऔषध नियन्त्रणका लागि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ । आर्थिक वर्ष २०८१–८२ अर्थात्, एक वर्षभित्रमा लागुऔषध ओसारपसार, भण्डारण र कारोबारमा संलग्न १ हजार ९ सय ८५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।

लागुऔषधको प्रयोगले व्यक्तिको मानसिक सन्तुलनमा असर पार्नुका साथै परिवार, समाज र राष्ट्रमा दीर्घकालीन क्षति पु¥याउने ठोस निष्कर्षका साथ प्रदेश प्रहरी सक्रिय बनेको हो । लागुऔषधका कारण हत्या, लुटपाट, चोरीलगायतका आपराधिक गतिविधिहरू बढ्ने सम्भावना उच्च हुने भएकाले यसलाई निर्मूल पार्नका लागि व्यापक अभियान सञ्चालन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताएका छन् ।

उनका अनुसार कानुनी चेतना, सामाजिक जिम्मेवारी र व्यावहारिक रणनीतिलाई आधार बनाएर लागुऔषधविरुद्धको अभियान चलाइएको हो । ‘लागूऔषधको प्रयोग, ओसारपसार र कारोबार कानुनी अपराध हो’ भन्ने सन्देशसहित प्रहरी कानुनी तथा सामाजिक स्तरमा एकीकृत ढङ्गले अगाडि बढेको छ । लागुऔषधको कुलतमा फसेका युवालाई पुनर्स्थापनाको बाटो देखाउने उद्देश्यले पनि प्रहरीले विविध कार्यक्रम सञ्चालन गरिरहेको कार्कीको भनाइ छ ।

प्रहरीले फ्यान ९फाइट एगेन्स्ट नार्कोटिक्स० नामक कार्यक्रम सञ्चालन गर्दै प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला संघसंस्थासँग समन्वय गरेर समुदायस्तरमा सचेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सञ्चारमाध्यमहरूसँग सहकार्य गर्दै श्रव्य दृश्य सामग्री तयार पारेर टेलिभिजन, एफएम रेडियो र सामाजिक सञ्जालमार्फत पनि अभियानलाई तीव्र पारिएको छ ।

प्रहरीले लागुऔषध ओसारपसारको सञ्जाल भत्काउन प्रमुख राजमार्ग, भित्री सडक, सीमावर्ती नाका, सवारीसाधन र शङ्कास्पद व्यक्तिहरूमा निगरानी र कडा चेकजाँच गरिरहेको छ । चेकजाँच कडा बनाइएकाले लागुऔषध शरीरका विभिन्न अङ्ग तथा मलद्वारमा लुकाएर ल्याउने प्रयासहरू असफल भएका छन् । प्रहरीले आवश्यकताअनुसार गोली प्रहार गरेर कारोबारीहरूलाई नियन्त्रणमा लिएकोसमेत जनाएको छ ।

गत आर्थिक वर्षमा झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ । झापा प्रहरीले २ किलो ८८२ ग्राम ब्राउन सुगर, ६३ हजार ५६० चक्की र क्याप्सुल बरामद गरेको छ । मोरङले १ किलो ७७० ग्राम ब्राउन सुगर, ८० हजार ९२३ चक्की र क्याप्सुल तथा १ हजार ४८५ एम्पुल बरामद गरेको छ । सुनसरीले ७२८ ग्राम ब्राउन सुगर, ४ लाख २८ हजार ६८३ चक्की र क्याप्सुल तथा ३१८ एम्पुल नियन्त्रणमा लिएको छ ।

१४ जिल्ला रहेको कोशीका विभिन्न स्थानबाट गरेर प्रहरीले चरेश ३.५८ ग्राम, अफिम १५.७७ ग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, ६ लाख १५ हजार ७९ वटा चक्की र क्याप्सुल, २ हजार ६५४ एम्पुल र अन्य १ सय ९ पिस औषधि बरामद गरेको हो । यस्ता कारोबारमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार लागुऔषधविरुद्धको अभियानमा आम नागरिक, सञ्चारकर्मी, शिक्षण संस्था, अभिभावक र युवाहरूको उल्लेखनीय साथ मिलेको छ । प्रहरी प्रशासनले लागुऔषधसम्बन्धी गतिविधि देखे वा थाहा पाएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन नागरिकहरूलाई अनुरोध गरेको छ ।

डीआइजी कार्कीका अनुसार अज्ञानता, साथीसँगको लहैलहै, उत्सुकता वा पारिवारिक तनावजस्ता कारण देखाएर लागूऔषध सेवन गर्ने युवालाई त्यसबाट मुक्त गराउने अभियानमा प्रहरी छ । अभियानलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रहरी सक्रियता बढाइने उनले बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार