विराटनगर सीमा क्षेत्रबाट ६२ जनाको उद्धार, भारतबाट फर्काइयो २ जना

विहीबार, ०८ साउन २०८२

विराटनगर : माइती नेपाल विराटनगरले पछिल्लो ६ महिनामा मानव बेचबिखनको जोखिममा रहेका ६२ जना महिला तथा बालिकालाई सीमा क्षेत्रबाट फर्काएको छ।

संस्थाका कार्यक्रम संयोजक विनोद पोखरेलका अनुसार मोरङको रानी नाका हुँदै भारततर्फ लैजान खोजिएका ती व्यक्तिहरूलाई समयमा नै रोकेर उद्धार गरिएको हो। उनले जनवरी १ देखि जुन ३० सम्मको अवधिमा ३६ जना मोरङका, बाँकी अन्य जिल्लाका भएको जानकारी दिए।

यस अवधिमा भारतबाट पनि दुई जनाको उद्धार गरिएको छ। घरेलु हिंसाका ३२ वटा घटना संस्थामा दर्ता भएका छन् भने हराइरहेका १८ जनामध्ये ५ जनाको खोजीपछि फेला पारिएको संयोजक पोखरेलले जानकारी दिए।

उक्त विवरण बिहीबार माइती नेपालले आयोजना गरेको बाल यौन शोषण तथा मानव बेचबिखन विरुद्धको क्षमता विकास कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा माइती नेपालकी गीताञ्जली शर्माले बाल यौन शोषण र मानव बेचबिखनसम्बन्धी प्रस्तुति दिँदै अध्ययनमा पारिवारिक बेमेलका कारण महिलाहरू घर छाड्ने गरेको उल्लेख गरिन्।

राष्ट्रिय बाल अधिकार परिषद् कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले खोजतलास १०४ को कामबारे जानकारी गराएका थिए। इलाका प्रहरी कार्यालय रानीका असई बाबुराम खनालले सीमामा रोकिएका बालिका तथा महिलाको उद्धारपछि अन्य निकायसँगको समन्वय प्रक्रिया र कानुनी पक्षमा जानकारी गराएका थिए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी, सशस्त्र प्रहरी बल, राष्ट्रिय बाल कल्याण परिषद्, विराटनगर महानगरका विभिन्न वडाका स्वयंसेविका, ‘सेफ्टी नेट सञ्जाल’ का संयोजकहरूको सक्रिय उपस्थिति थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार