काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबारको सामान आयात

शुक्रबार, ०९ साउन २०८२

भद्रपुर : पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१÷८२ मा रु ४७ अर्ब ६० करोड छ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । आव २०८०÷८१ को तुलनामा गत आवमा रु दुई अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात गरिएको हो । 

 मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उनले पेट्रोलियम पदार्थ रु १९ अर्ब ९४ करोडको आयात हुँदा रु चार अर्ब ४५ करोड बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिए । 

 गत आवमा आयात र निर्यातमा सामान्य वृिद्ध भएको भन्सार अधिकृत हुमागाईंले बताए । उनका अनुसार आयातमा छ दशमलव ५८ प्रतिशत अर्थात् रु दुई अर्ब ९३ करोडले वृद्धि हुँदा निर्यात भने दुई दशमलव ९६ प्रतिशत अर्थात् रु ७२ करोड २७ लाखले बढेको छ ।

 गत वर्ष यो नाका हुँदै रु २५ अर्ब १३ करोड ९७ लाख मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईंले जानकारी दिए । आव २०८०÷८१ मा रु २४ अर्ब ४१ करोड ७० लाख मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार