अमेरिका : अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो एक अमेरिकी यात्रुवाहक विमान ठुलो दुर्घटनाबाट जोगिएको छ। अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडलको विमानमा ल्यान्डिङ गियरमा समस्या आएपछि विमानको उडान रोकिनुका साथै त्यसको पछाडिको भागमा आगो लागेको थियो।
उक्त विमान फ्लोरिडाको मियामीतर्फ गइरहेको थियो। अमेरिकाको स्थानीय समय अनुसार दिउँसो २:४५ बजे भएको घटनाका बेला विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। यद्यपि सबैलाई आपतकालीन स्लाइडमार्फत सुरक्षितरूपमा बाहिर निकालिएको थियो।
दुर्घटनापछि ६ जना यात्रु सामान्य घाइते भएका छन्, जसमध्ये एक जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
संघीय उड्डयन प्रशासन (एफएए) र अमेरिकन एयरलाइन्सले घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार ल्यान्डिङ गियरको खराबी नै दुर्घटनाको प्रमुख कारण मानिएको छ।
बोइङ कम्पनीका विमानहरूसँग पछिल्लो समय लगातार समस्या देखिँदै आएका छन्। केही साताअघि जुन १२ मा भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७–८ विमानमा २७० जनाको ज्यान गएको थियो।
प्रतिक्रिया