काठमाडौँ : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका १५ जनामध्ये ४ जना पोखरामा भेटिएका छन् ।
बेपत्ता परिवारका सदस्यहरू पोखराको गगनगौंडास्थित एक घरमा फेला परेको कास्की प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले पुष्टि गरेका छन् ।
उनका अनुसार पोखराका चन्द्र भण्डारीको घरमा उर्मिला हायु परिवारका ४ सदस्य भेटिएका हुन् । ‘चार जना एउटै घरमा बसिरहेको खबर पाएपछि प्रहरी टोली त्यहाँ पठाएका छौँ,’ ओलियाले भने, ‘अन्य व्यक्तिहरू पनि त्यहीँ छन् कि भन्नेबारे अनुसन्धान भइरहेको छ।’
सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले पोखरामा भेटिएका व्यक्तिहरू उर्मिला हायुको परिवारका सदस्य रहेको प्रारम्भिक जानकारी आएको बताए ।
उनले भने, ‘चार जना भेटिएको खबर आएको छ, तर थप विवरण कास्की प्रहरीसँग समन्वय गरेर यकिन गर्दैछौं ।’
गत शुक्रवारदेखि सम्पर्कविहीन बनेको हायु परिवारका सदस्यहरूमध्ये सुजता हायु नाम गरेकी २१ वर्षीया एक महिला यसअघि प्रहरी सम्पर्कमा आइसकेकी थिइन् ।
करिब ४ महिनादेखि काठमाडौँमा श्रीमानसँग बस्दै आएकी सुजता अहिले कता छन् भन्नेबारे प्रहरीले थप जानकारी लिँदै छ ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाउँदै प्रहरीले बाँकी बेपत्ता ११ जनाको खोजी कार्य तीव्र पारेको छ । यस घटनाले रहस्यमय मोड लिँदै गर्दा स्थानीय र सम्बन्धित निकायको चासो बढेको छ ।
प्रतिक्रिया