जनार्दन मैनाली पत्रकारिता पुरस्कार सुदीप कोइरालालाई

मंगलबार, १३ साउन २०८२

विराटनगर : विराटनगरका पत्रकार सुदीप कोइरालालाई यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

प्रेस चौतारी नेपाल मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोइरालालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ छ ।

कोइराला हाल कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष छन् । पत्रकारितामा करिब २ दशकदेखि सक्रिय उनी प्रेस चौतारी मोरङका पूर्व अध्यक्षसमेत हुन् । 

विक्रम संवत् २०६६ सालमा स्थापना गरिएको यो पुरस्कार यसअघि दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, विक्रम लुइँटेल, धर्मराज ढकाल, भूपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीलाई प्रदान गरिसकिएको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालका प्रदेश सरकारहरूमध्ये बजेट खर्च गर्नेमा कोशी पहिलो नम्बरमा रहेको बताए । प्रदेश सरकारले करिब ८१ प्रतिशत खर्च गरेको जानकारी उनले दिए । 

उनले गत वर्ष ४ अर्ब ९८ करोडको आन्तरिक राजस्व लक्ष्यनजिक पुगेको पनि बताए । विगत वर्षको भन्दा राजस्व सङ्कलन सुधारोन्मुख देखिएको कार्कीको भनाइ छ । चालु आर्थिक वर्षमा लक्ष्य अनुसार आशातीत राजस्व सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए । 

‘सरकारका हकमा केही प्रश्नहरू उठेका छन् । समय क्रममा त्यसलाई समाधान गरिने छ । बेरुजु घटाउने र सुशासनको प्रत्याभूति दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ,’ मुख्यमन्त्री कार्कीले भने । प्रदेशको सञ्चार प्रतिष्ठान ऐन संसदमा लगिसकिएको बताउँदै उनले सञ्चार क्षेत्रको सशक्तीकरणमा सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार