काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरेफेरको तयारी गरेका छन् । त्यसका लागि उनले आज सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गर्दैछन् । आज प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेता सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीले खासगरी आफ्नै पार्टीबाट बनेका विवादित मन्त्रीहरू फेरबदल गर्न खोजेका हुन् । सत्ता साझेदार कांग्रेस भने अहिले आफ्ना मन्त्री फेर्ने मनसायमा देखिएको छैन ।
एमालेबाट बनेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको बताईएको छ ।
कतिपयलाई मन्त्री बनाउने बेलै एक वर्षका लागि मात्र भनेर सम्झौता गरिएको तथा कतिको काम सन्तोषजनक नदेखिएकाले प्रधानमन्त्री ओलीले बिदा गर्न लागेका हुन् । भूमि मन्त्री अधिकारीको त घुस मागेको अडिओ नै सार्वजनिक भएको छ ।
हाल मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् । आज हुने सत्ता साझेदार दुई दलको बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया