देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको अनुरोध

सोमबार, १९ साउन २०८२

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले मधेश प्रदेशसहित देशभर आगामी केही दिन मनसुन थप सक्रिय हुने देखिएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ र सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

रातिको मौसम पनि समान रहनेछ। देशभर सामान्य बदलीका साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा अन्य तराई भू–भागका धेरै स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसबाहेक बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

मौसम विभागले आगामी केही दिन मनसुन थप सक्रिय हुने भएकाले नदी, खोला तथा डुबान जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचना निरन्तर लिइरहन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार