खोटाङ दुर्घटना अपडेट : १७ घाइतेमध्ये १ जनाको मृत्यु , ३ को अवस्था गम्भीर

सोमबार, १९ साउन २०८२

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा सोमबार बिहान भएको सवारी दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनाको मृत्यु भएको छ । 

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार सिराहातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी सडकबाट करिब २ सय मिटर तल खस्दा १८ जना सवारमध्ये १७ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य १६ जनाको उपचार घुर्मी सामुदायिक अस्पतालमा भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृतक र घाइतेहरूको नाम ठेगाना भने अझै सार्वजनिक गरिएको छैन ।

दुर्घटनापछि गाडी चालक फरार रहेका छन् । घटनास्थलमै पुगेको प्रहरीले चालकको खोजी तीव्र पारेको जनाएको छ । हलेसीबाट सिराहा फर्किंदै गरेका तीर्थयात्री चढेको उक्त गाडी तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य सम्पन्न गरी घाइतेहरूलाई अस्पताल पुर्याइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार