धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

शुक्रबार, २३ साउन २०८२

म्याग्दी : धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ ।

पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दु धर्मग्रन्थमा हम्पाल, कालञ्जर, मृगस्थलीका रूपमा ब्याख्या गरिएको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले जलजला ओझेलमा परेको हो ।

हिन्दु धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्रा डा जगन्नाथ रेग्मीले बताए ।

‘पौराणिक वाङ्मयले मुक्तकण्ठले प्रशंसा गरेको कालञ्जरको मुख्य केन्द्र विकासका दृष्टिले अझै पनि पछाडि पर्नुमा प्रचारप्रसारको अभाव, दुर्गम भौगोलिक अवस्थिति, सडक यातायातको असहजता, मानव बस्तीदेखि टाढा रहनु, प्राकृतिक, भौगोलिक एवं पौराणिक पहिचानका अभिलेख र स्रोतबाहेक कुनै लिखित दस्तावेज नपाइनुलगायत कारण देखिएका छन्’, उनले भने, ‘यहाँका कतिपय प्राचीन मन्दिर, सत्तल गुफा र ओढारहरू संरक्षणको अभावमा नामशेष हुन लागेका छन् ।’

प्रा डा रेग्मीका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ ।

जलजलामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका मोदी गाउँपालिका– ४ लेसपारका टीका पुनले जलजलाको सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमै सीमित हुँदा पर्यटक तथा भक्तजनको आगमन हुन नसकेको बताए ।

‘शरद र वसन्तयाममा फाट्टफुट्ट पदयात्री तथा महायज्ञ सञ्चालन भएको समयमा भक्तजनहरू आउनुहुन्छ’, उनले भने, ‘अन्य समयमा जलजला सुनसान हुन्छ ।’ समुद्री सतहबाट तीन हजार ३०० मिटर उचाइमा पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ । खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ ।

दुई दशकअघिसम्म जलजला र मोदी गाउँपालिकाका बासिन्दाले यहाँ बर्खामा गाईभैँसीको गोठ लैजाने गर्दथे । पछिल्लो समय गोठ लैजाने चलन हराएको छ । जलजलाबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने वाइफाई डाँडाबाट अन्नपूर्ण र ३० मिनेटको पदयात्रामा पुगिने माटेको लेकबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार