एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल भारी अन्तरले पराजित, छनोटको यात्रा समाप्त

आइतबार, २५ साउन २०८२

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ।

साविक विजेता उत्तर कोरियाले खेलको पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै सहज जित हात पार्‍यो। यससँगै समूहका सबै ३ खेल जितेको उत्तर कोरियाले ९ अंक जोडेर विजेता बन्दै आगामी वर्ष थाइल्याण्डमा हुने अन्तिम चरणमा स्थान बनाएको छ। उत्तर कोरियाले छनोटमा कुल ३६ गोल गर्दै एक पनि गोल खानु परेन।

नेपालको यो छनोटमा पहिलो हार भए पनि यसले अन्तिम चरणमा पुग्ने आशा समाप्त गर्‍यो। नेपालले ३ खेलबाट १ जित, १ बराबरी र १ हारसहित ४ अंक मात्र जोड्न सफल भयो।

पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले पराजित गरेको थियो। तर, छनोट नियम अनुसार ८ समूह विजेता सिधै छनोट हुने र उत्कृष्ट ३ दोस्रो स्थानका टिम मात्र अन्तिम चरणमा पुग्ने प्रावधान रहेकाले, पाँच समूहमा दोस्रो हुने टिमले यसअघि नै ६ अंक जोडेपछि नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि समाप्त भएको हो।

नेपालले भुटान र साउदीलाई हराउँदै तथा उत्तर कोरियासँग बराबरी गर्दै अन्तिम चरणमा पुग्ने लक्ष्य राखेपनि त्यसमा सफल हुन सकेन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार