इटहरी : सुनसरीको चारकोशे झाडी आसपासका इलाकामा जङ्गली हात्तीको समस्या दशकौंयता निरन्तर बढ्दै गएको छ।
इटहरी–२ र ३ नम्बर वडाका बासिन्दाहरू दैनिक रूपमा हात्तीको प्रवेश र आक्रमणको सामना गर्न बाध्य छन्। २ का वडाध्यक्ष माधव कोइरालाका अनुसार, यस क्षेत्रमा जङ्गली हात्तीले कृषि क्षेत्र, बस्ती र घरजग्गामा ठूलो क्षति पुर्याइरहेको छ, तर समस्या समाधानमा प्रदेश र केन्द्रीय सरकारको बेवास्ता देखिएको छ।
वडाध्यक्ष कोइरालाले प्रदेश खबरसँगको कुराकानीमा बताए अनुसार, झन्डै एक वर्षअघि तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मेची देखि उदयपुरसम्म पदयात्रा गर्दै स्थानीय बासिन्दाको गुनासो सुनेर हात्ती समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
तर, त्यसपछि कुनै ठोस कदम चालिएको छैन। उनी भन्छन्, “स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा हात्ती आउँछ, क्षति पुर्याउँछ अनि घर गएर आर्थिक सहयोग गरियो, यतिले समस्या अहिले सम्म टरेको छ।”
कोइरालाले थपे,“हात्तीको समस्या भएका क्षेत्रमा विद्युतीय सोलार फेन्सिङ गर्ने वा अन्य दीर्घकालीन समाधान अपनाउने विषयमा अहिलेसम्म कसैले चासो देखाएको छैन। कोशी प्रदेशका वनमन्त्री सदानन्द मण्डल समेत आएका थिए र प्रतिबद्धता जनाए, तर व्यवहारमा केही भएको छैन।”
स्थानीय समाजसेवी रोशन अधिकारीले पनि यस समस्यालाई लिएर स्थानीय प्रशासनले केही प्रयास गरेको भएपनि समाधान पर्याप्त नभएको बताए।
उनले भने, “इटहरी उपमहानगरले हात्ती भगाउनका लागि साइरनको व्यवस्था त गरिदियो, तर वास्तविक सुरक्षा सुनिश्चित गर्न पर्याप्त भएन।”
स्थानीय बासिन्दाहरूले रातभरि चौकस बस्नुपरेको अवस्था रहेको बताए। हात्तीले घर, बारी र जनावरलाई क्षति पुर्याउँदा कृषक, व्यापारी र सामान्य नागरिक सबै प्रभावित छन्।
विशेषज्ञका अनुसार, हात्ती–मानव द्वन्द्व रोक्न वन विभागले प्रभावकारी सुरक्षा उपाय, जस्तै सोलार फेन्सिङ, जङ्गल प्रबंधन, तथा दीर्घकालीन रणनीति आवश्यक छ।
दशकौँदेखिको यो समस्या समाधान नगरी रहँदा स्थानीय बासिन्दा मानसिक तनाव र आर्थिक क्षतिको सामना गर्दै आएका छन्।
प्रतिक्रिया