विराट टिचिङमा स्त्री तथा प्रसूति सेवाका लागि २०० बेडको भवन उद्घाटन

बुधबार, ११ भदौ २०८२

विराटनगर । मोरङको बुढीगंगा–२ मा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा नयाँ फड्को मारेको छ। मंगलबार अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि मात्रै समर्पित २०० बेड क्षमताको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको हो।

भवनको उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गर्दै यसलाई पूर्वी क्षेत्रमा स्वास्थ्य सेवाको नयाँ अध्यायको सुरुवात भने। अस्पतालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मानसिंह कार्कीका अनुसार, नयाँ संरचना र उपकरणहरूले महिला बिरामीलाई अझ सुरक्षित र गुणस्तरीय सेवा दिनेछन्।

नयाँ भवनमा ५ वटा अत्याधुनिक अप्रेशन थिएटर, २०० बेडको वार्ड, ३० बेडको डिलक्स क्याबिन, छुट्टै गाइनो आईसीयू र आपतकालीन सेवा सुविधा थपिएका छन्। यससँगै अस्पतालमा अब २४ वटा शल्यक्रिया कक्ष पुगेका छन्। हाल सञ्चालनमा रहेको १०० बेड क्षमताको आपतकालीन विभागमार्फत स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि उपलब्ध छ।

नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रका रूपमा परिचित यस अस्पतालमा २० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको टोली २४ घण्टा सेवा दिइरहेको छ। उद्घाटन कार्यक्रममा विद्यार्थी, चिकित्सक र नर्सलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रमसमेत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले सरकारले लामो समयपछि एमबिबिएस कोटा बढाउने निर्णयलाई ऐतिहासिक बताएका छन्। साथै, अस्पतालले बिरामीका आफन्त र कर्मचारीलाई लक्षित गर्दै आधुनिक ‘विराट क्याफे’ समेत सञ्चालनमा ल्याएको छ, जसले स्वच्छ खानपान सुविधा उपलब्ध गराउनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार