काठमाडौँ : भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरस्टोरका २० वटा शाखामा आगजनी, तोडफोड र लुटपाट हुँदा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको छ ।
भाटभटेनी सुपरस्टोरले सङ्कलन गरेको विवरणअनुसार बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा भवन पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
ती भवनभित्र रहेका स्केलेटर, लिफ्ट, फ्रिजलगायत महँगा सामग्रीदेखि सम्पूर्ण भण्डारण सामान जलेका छन् ।
यसका अतिरिक्त नौ वटा स्टोरमा तोडफोड र लुटपाट भएको छ । ती शाखामा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले १२ वटा शाखा पूर्णरुपमा नष्ट र बाँकी नौ वटा शाखामा आंशिक क्षति भएको बताएका थिए ।
उनले १० हजारभन्दा बढी कर्मचारीलाई बिदा नदिने र पूरा महिनाको दसैँ बोनस दिने योजना रहेको जानकारीसमेत दिएका छन् ।
कुल क्षतिबाट ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलेका छन् भने ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड तथा लुटपाटमा नष्ट भएका छन् ।
भवन तथा संरचनात्मक क्षति ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबर रहेको भाटभटेनीले जनाएको छ ।
गुरुङले भेटका क्रममा राज्यले चाहेमा आफ्नो सम्पत्तिको आधा हिस्सा दिन तयार रहेको पुनः प्रतिबद्धता जनाउँदै पनि भाटभटेनीलाई नियोजित रूपमा ‘टार्गेट’ गरिएको गुनासो गरेका छन् ।
प्रतिक्रिया