इटहरीलाई भयमुक्त शहर बनाउने प्रहरी प्रमुख हमालको प्रतिबद्धता

शनिबार, ११ असोज २०८२

इटहरी : इलाका प्रहरी कार्यलय इटहरीका नयाँ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले इटहरीलाई भयमुक्त बनाउँदै शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने दृढता व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट सरुवा भई हालै इटहरीमा हाजिर भएका डिएसपी हमालले पदभार ग्रहणसँगै जनताप्रति जिम्मेवारीपूर्ण सेवा प्रवाह गर्ने सङ्कल्प व्यक्त गरे ।

उनले भने, “इटहरीलाई शान्त, सुरक्षित र अपराधमुक्त बनाउन कुनै कसर बाँकी राखिने छैन ।”

उनले जेनजी आन्दोलनपछि विस्थापित भएको प्रहरी कार्यालयलाई सबैको समन्वयमा पुनः स्थापना गर्ने र केही दिनभित्रै स्थापित गराएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। 

पुनः पुनः स्थापित भएको प्रहरी कार्यालय इटहरीलाई प्रभावकारी बनाउँदै शान्ति–सुरक्षामा दृश्यमान उपलब्धि हासिल गर्ने लक्ष्य लिएका छन् ।

नजिकिँदै गरेको दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

उनले भने, चाडपर्वका लागि इटहरीमा थप ५० जना प्रहरी खटाउने योजना बनाइएको छ । यो योजना जिल्ला प्रहरी कार्यालय सुनसरीको नीतिअनुसार अघि बढ्ने हमालले जनाए ।

डिएसपी हमालले सशक्त प्रहरी मात्र नभई सचेत नागरिकको सक्रिय सहभागिता पनि आवश्यक पर्नेमा जोड दिँदै भने, “प्रहरीको मनोबल उच्च राख्न र अपराध नियन्त्रणमा सफल हुन सर्वसाधारणले पनि हातेमालो गर्नुपर्छ ।”

स्थानीयवासीले इटहरीको सुरक्षाप्रति उच्च आशा राखेका बेला नयाँ प्रहरी प्रमुखले ल्याएको प्रतिबद्धताले जनतामा थप भरोसा जगाउने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार